News Portal

काेराेना महामारीकै बीच कोसेली बोकेर कालापार

रातोपोस्ट
६८८ पटक

अर्घाखाँची, ६ मंसिर । रुमालले टपक्क बाँधेको स्याउको पेटी काखीमा थियो । एक हातमा झोला र अर्काले सानी नानी डोर्‍याएकी थिइन् । उनको ध्यान स्याउको पेटीमा केन्द्रित थियो । उक्त पेटीमा तिहारका परिकारहरू सेलरोटी, फिनी रोटी र झिनिया थिए ।

सल्यानको शारदा नगरपालिका–३ की २१ वर्षीया मनीषा गन्धर्वको परिवार तिहारको कोसेली बोकेर मजदुरी गर्न भारत गइरहेको हो । नेपालगन्जको जमुनाहा नाकाबाट शुक्रबार सेलरोटीको पेटी बोकेर उनीहरूले सीमा पार गरेका हुन् । भारतबाट पर्व मनाउन एक महिनाअघि घर आएकी मनीषाले सधैं तिहारमा धेरै रोटी पकाउने गरेको सुनाइन् ।

यस्ता परिकार तिहारमा घर आउन नपाएका आफन्ती, साथीभाइलाई कोसेलीस्वरूप लगिदिने गर्छिन् । परदेश पुगेपछि काममा खटिएका बेला महिनौंसम्म यिनै रोटी खाजा हुने गरेको उनले बताइन् । ‘कालापार (परदेश) मा ड्युटीमा खान हुने, उता के ल्याइस् भन्नेलाई उपहार पनि दिन हुने,’ उनले भनिन्, ‘सेलरोटी त जति पुरानो उति मीठो लाग्छ ।’ कामको खोजीमा परदेश जानुलाई पश्चिम पहाडबाट कालापार जानु भन्ने गरिन्छ । मनीषाजस्ता थुप्रै नेपाली यतिबेला पर्व सकिएलगत्तै भारतका सडकमा मजदुरी गर्न जाँदै छन् ।

कोरोना महामारीको संकटसँगै बेरोजगारीको चुनौती थपिएपछि दुर्गम क्षेत्रका बासिन्दा पोका पन्तुरा बोकेर भारत लाग्ने नियति नै बनेको छ । सुर्खेतका अनिल परियारले दसैं र तिहार मनाउन घर आउनुको दुईवटा कारण भएको बताए । एउटा परिवारसँगै बसेर पर्व मनाउने र अर्को गाउँमा बेरोजगार बसेका युवालाई सँगै लिएर भारत मजदुरी गर्न जाने । तिहार सकिएलगत्तै उनी गाउँका १२ जना तन्नेरी सम्मिलित टोलीको नेतृत्व गर्दै भारततर्फ लागे । ‘सडकमा काम गराउने अवसर पाइएको छ,’ उनले भने, ‘उता कामदारको खडेरी छ, यता बेरोजगार छन् ।’ उनी हरेक महिना गाउँ आउँछन्, मान्छे जम्मा गरेर भारत लैजान्छन् । एक महिनाअघि १० जना युवा मजदुरी गर्न भारत पठाएका थिए । अनिलले मजदुरी गर्न भारतमै बसेका नेपालीलाई कोसेली तिहारका सेलरोटी र फिनी बोकेका थिए । ‘पर्वमा आउन पाएनौं, रोटी ल्याइदिनू भनेका थिए,’ उनले थपे, ‘सेलरोटी बाटाभरि गाडीमै सकिन बेर लाग्दैन ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्