
झापा, ७ मंसिर । झापामा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ जना महिला र ३३ जना पुरुष रहेका छन् । आज सबैभन्दा बढी दमक नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, भद्रपुरका ३ महिला र ६ जना पुरुष गरी ९ जना संक्रमित भएका छन् । कमल गाउँपालिकाका ३ महिला र ४ पुरुष, अर्जुनधाराका २ महिला र २ पुरुष, शिवसताक्षीका २ महिला र ४ पुरुष, मेचीनगरका १ महिला र ३ पुरुष, गौरादहका २ जना पुरुष, बिर्तामोडका १ महिला र २ पुरुष, कनकाई र बाह्रदशीका १-१ जना पुरुष तथा गौरीगञ्जकी एक महिलामा आज संक्रमण पुष्टि भएको हो ।
झापामा आज कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई र मेचीनगरका दुई पुरुष र भद्रपुरका एक महिला रहेका छन् । योसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९४ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।