News Portal

उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि शुरू

रातोपोस्ट संवाददाता
४७३ पटक

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आज सुरु हुँदैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने वार्षिक साधारणसभाले नयाँ नेतृत्व र भावी अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष समेत चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नुहुनेछ ।

अबको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिष्पर्धामा हुनुहुन्छ । दुवै उम्मेद्वारले आफूहरुले देशैभरीका उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास भैरहे पनि सहमतिको सम्भावना कम हुँदै गएको छ । साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट जुम मिटिङबाट उद्घाटन गर्नेछन्। गत चैतमै हुनुपर्ने साधारण सभा (नेतृत्व चयनको महाधिवेशन) बिहीबारबाट सुरु भई ३ दिनसम्म चल्नेछ।

उद्घाटन सत्रमा प्रधामन्त्रीलगायत केही मन्त्रीहरुको समेत उपस्थिति रहने भएको छ। साथै भारतीय राजदूत, फेन्च राजदूत, आइएलओको प्रमुख, ब्रिटिस काउन्सिलका प्रमुख र चिनियाँ राजदूतावासका एक प्रतिनिधीसमेत उपस्थित हुने कार्यक्रम तय भएको महासंघले जनाएको छ। यसैगरी उद्घाटन सत्रमा महासंघका पदाधिकारी, महासंघ प्रदेश अध्यक्ष र पूर्वअध्यक्षहरुमात्रै सहभागी हुने र अन्य सबै अनलाइनमार्फत् सहभागी हुने भएका छन्।

महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। जसअनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ। जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।

प्रतिकृया दिनुहोस्