News Portal

आन्तरिक किचलोमा झन्-झन् फस्दै नेकपा, प्रचण्ड-नेपाल समूहको छुट्टै भेला

रातोपोस्ट संवाददाता
५९९ पटक

काठमाडौं, १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भविष्य अब के होला भनेर अब चिन्ता गर्न सायदै छाडिएको छ। करिब दुई तिहाइ मत ल्याएर मुलुकको नेतृत्व गरिरहेको नेकपा आन्तरिक किचलोमा यतिसम्म फसिसकेको छ की यसबाट उम्किन निकै मुस्किल देखिएको छ।

नेकपा एकतासँग जनताको भाग्य र भविष्य जोडिएकाले यो पार्टी मिल्नुपर्छ भन्नेहरुले पनि अब आश मार्न थालेका छन्। गत वैशाखबाट शुरु भएको नेकपाको किचलो वार की पारको स्थितिमा पुगेको छ। नेकपाको नेतृत्व गरिरहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह वार की पारको स्थितिमा पुगेको छ।

गत कार्तिक २७ गते बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले वितरण गरेको राजनीतिक प्रस्ताव सञ्चारमाध्यममा छताछुल्ल भएपछि यसले उग्ररुप लिएको हो। प्रचण्डको उक्त प्रस्तावलाई अर्का अध्यक्ष ओलीले निकृष्ट आरोपहरुको संगालो भएको बताएका थिए।

दुई अध्यक्षयीय प्रणाली कायम रहेको अवस्थामा एकल अध्यक्षले मात्र पार्टीको राजनीतिक प्रस्ताव एकलौटीरुपमा ल्याउन नमिल्ने भन्दै त्यस प्रस्तावमा कुनै छलफल अडान लिएका थिए। पछि ओलीले ती आरोपहरूको जवाफ बुँदा–बुँदामा दिने गरी प्रताव ल्याउने सचिवालय बैठकमा जानकारी गराएका थिए।

यही क्रममा मंसिर ९ गते प्रचण्डले उक्त प्रस्ताव प्रकाशन गरेपछि स्थिति झन उग्ररुप लिएको छ। पार्टी सचिवालयमा पेश भएको प्रस्तावमाथि छलफल हुन नपाउँदै प्रकाशन गरेर प्रचण्डले तल पठाउनु भनेको पार्टी विभाजनको औपचारिक प्रस्ताव भएको ओली पक्षका नेताहरुले टिप्पणी गरेका छन्।

नेकपाका स्थायी समिति सदस्य सत्यनारायण मण्डल प्रचण्डको उक्त कार्यलाई गलत दिशाको बाटो भएको बताउछन्। ओली पक्षका नेताहरुले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधि–पद्धति मानेन भनेर अनुशासनको कारबाही गर्न उद्यत हुनेहरू नै अहिले सचिवालयमा बहस टुगिंनसकेको विषय कार्यकर्ता र आम जनताको हातहातमा बाँडिरहेका छन्। यो पार्टी विभाजनकै यात्रा हो।’

यद्यपी प्रचण्डले प्रधानमन्त्री ओलीलाई लगाएका आरोपहरुको जवाफ दिनेगरी प्रधानमन्त्री ओली समूह अहिले राजनीतिक प्रस्ताव लेखन व्यस्त छ। आगामी मंसिर १३ गते नेकपाको सचिवालय बैठक बस्दैछ। उक्त बैठक कसरी अगाडि बढ्छ त्यो भने, हेर्न बाँकी छ।

ओलीको भर्चुअल बैठक, प्रचण्ड–नेपालको छुट्टै भेला

अध्यक्ष ओलीले आफ्नो समूहसँग भर्चुअल छलफलको जवाफ प्रचण्ड–नेपाल समूहले छुट्टै भेला गरेर दिएको छ। नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेता नेपालनिकट केन्द्रीय सदस्यहरुले सुनसरीको इटहरीमा अलग्गै भेला आयोजना गरेका हुन्। प्रदेश १ स्तरीय भेलाका रुपमा आयोजना गरिएको भेलामा केन्द्रीय नेताको सहभागितामा अलग्गै भेला आयोजना गरेका हुन्।

केही समय अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरूसँग भर्चुअल छलफल आयोजना गरेका थिए। ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत सहभागी भएका थिए।

सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सह–इन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए। इटहरीको साथी पेट्रोल पम्पअगाडिको इटहरी ब्यांक्वेटमा भेला भएका नेता कार्यकर्ताले पार्टीमा उत्पन्न समस्याको विश्लेषण गर्दै प्रधानमन्त्री केपी ओलीका पछिल्ला गतिविधिको विषयमा समेत छलफल भएको जानकारी प्राप्त भएको छ।

प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा आफ्नो समूहको मात्र सहभागीता गराएर गरेको छलफललाई काउन्टर दिने गरी प्रचण्ड–नेपाल समूहले भौतिक रुपममा सहभागीता गराएरै भेला आयोजना गरेको हो। छलफलमा प्रचण्डनिकट पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल प्रमुख अतिथि रहेका थिए।

प्रतिकृया दिनुहोस्