News Portal

  • नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै : अध्यक्ष ओलीको प्रस्ताव तयार

    रातोपोस्ट संवाददाता
    ६०७ पटक

    काठमाण्डाै,१३ मंसिर । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेकाे प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्नो प्रस्ताव राख्न लागेका हुन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उहाँमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताए ।

    ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने तयारी गर्नुभएको छ । पार्टीभित्र आरोपप्रत्यारोप बढ्दै गर्दा प्रधानमन्त्रीको जवाफी प्रतिवेदन र सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक-दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।

    नेताहरुका अनुसार यस बीचमा संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास हुनेछ । सहमति भएन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गराउने प्रचण्ड-नेपाल समूहको तयारी छ । यसअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए ।

    अघिल्लो सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् । गएको भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आउँदाे चैतको अन्तिम हप्ता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

    पार्टी भित्र पछिल्लाे समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भएर नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)