News Portal

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

रातोपोस्ट संवाददाता
४६१ पटक

काठमाडौं, १५ मंसिर । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ ।आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।

पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

सरकारको नीति तथा कार्यक्रममा सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका अस्पताल बनाउने उल्लेख छ । तर सबै स्थानीय तहहरुमा १५ शय्याका अस्पताल बनाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रतिकृया दिनुहोस्