News Portal

सत्तारुढ नेकपाको विवाद सुल्झिने भन्दा झन बल्झिदै

रातोपोस्ट संवाददाता
३७४ पटक

काठमाडौं, १५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै अध्यक्षले छुट्टा–छुट्टै प्रतिवेदन पेश गरेपछि नेताहरु अहिले गुटगत छलफलमा जुटेका छन् । कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओली असफल रहेको भन्दै प्रतिवेदन पेश गरेका थिए ।

त्यसको जवाफ स्वरुप मंसिर १३ मा अध्यक्ष ओलीले अध्यक्ष दाहाल एकता विरोधी भएको निष्कर्ष सहित प्रतिवेदन पेश गरे । अहिले यीनै प्रतिवेदनहरुमा ओली र प्रचण्ड समूहको छुट्टा–छुट्टै छलफल चलेको छ । सत्तारुढ नेकपाको विवाद सुल्झिने भन्दा बल्झिने छनक देखापर्न थालेको छ । दुई अध्यक्षले छुट्टा–छुट्टै प्रतिवेदन सचिवालयमा पेश गरेपछि विवाद बढ्ने संकेत देखिएको छ । अध्यक्ष दाहाल पक्षले ओली नसच्चिए पार्टी एकता नै खतरामा पर्न सक्ने बताउन थालेको छ ।

सोमबार पनि अध्यक्ष दाहालले आफू निकटका सचिवालय तथा स्थायी कमिटी सदस्यहरुसँग सामुहिक र एकल छलफल गरेका छन् । आइतबार पनि उनको छलफल निरन्तर रहेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग ओली प्रतिवेदनबारे छलफल गरेका दाहालले आफू निकटका स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, वर्षामान पुन, मात्रिका यादव लगायतसँग निरन्तर छलफल गरे ।

विवाद एउटा निष्कर्षमा जाने प्रसंग भनेको पार्टी फुट नै भएको छलफलमा सहभागी नेताहरुले बताएका छन् । अध्यक्ष ओली पनि गलिहाल्ने अवस्थामा छैनन् । आफूमाथि लागेका गम्भीर आरोपको छिनोफानो हुनुपर्ने उनको अडान छ । आफू निकटका नेताहरुसँगको छलफलमा अध्यक्ष ओलीले आफूलाई लगाइएको आरोप पुष्टि गर्नुपर्ने वा पुष्टि गर्न नसके आरोप लगाउनेलाई कारवाही हुनुपर्ने अडान राख्ने बताएका छन् ।

यसले नेकपा विवादलाई थप उचाई दिने निश्चित छ । यो समस्या जटिल बने २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकता निष्कर्षमा नपुग्दै अन्त्य हुनेछ । यसले मुलुकमा थप राजनीतिक जटिलता ल्याउने जानकारहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्