News Portal

आम्दा अस्पताल उपचारको भरपर्दो थलो बन्दै

रातोपोस्ट संवाददाता
५३३ पटक

मेचीनगर, १६ मंसिर । मेचीनगरको धुलाबारीमा सञ्चालित आम्दा मेची अस्पताल उपचारको भरपर्दो थलो बन्दै गएको छ । आवश्यक उपचार सामाग्री अभावमा पनि अस्पतालले नियमित सेवा भने दिइरहेको छ ।

यद्यपि, अस्पतालको मापदण्ड अनुसार बिरामीले सेवा भने अझै चित्तबुझ्दो पाउन सकेका छैनन् । अहिले पनि ‘रेफर सेन्टर’ भन्दा माथि उठ्न नसक्दा सो अस्पतालको सेवाप्रति बिरामीहरुले विश्वास गर्न सकिरहेका छैनन् । भौतिक पूर्वाधारमा धनी रहेपनि अस्पताल सञ्चालन भने चुस्त बनाउन नसक्दा थुप्रै अभाव झेल्दै आएको छ । दुईतले पक्की भवनमा अस्पताल सञ्चालनमा छ । तर, माथिल्लो तलामा प्रशासन कक्षबाहेक अन्य कोठाहरु पूरै खाली नै छ । २ विगाहा ५ धुर क्षेत्रफल रहेको सो अस्पताल १५ शैयामा सञ्चालित छ ।

चाहिने स्वास्थ्य सामाग्रीहरु पर्याप्त नहुँदा अस्पतालले बिरामीलाई प्राथमिक उपचार मात्र दिन सकेको अस्पतालका प्रशासन सहायक प्रमुख उज्वल तारा थापा स्वीकार्छन् । उनका अनुसार विगतका दिनभन्दा अहिले अस्पतालको सेवा भरपर्दो चाहिँ बन्दै गएको छ । ‘पहिलेको भन्दा अहिले धेरै बिरामीहरु सेवा लिन अस्पताल आउने गरेका छन्’, उनले भने, ‘तर अस्पतालको यो सेवा पूर्ण भने होइन ।’ प्रशासन सहायक प्रमुख थापाका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको आगमनसँगै सेवा भने भरपर्दो बनेको हो । अस्पतालमा तीनजना चिकित्सकले नियमिति रुपमा बिरामीलाई उपचार सेवा दिइरहेका छन् । डा. पोषणरमण त्रिपाठीसहित अन्य दुईजना चिकित्सकले नियमित रुपमा बिरामी जाँच गर्ने गरेको उनको भनाई छ ।

बिरामीले भरपर्दो उपचार समेत पाएकाले दैनिक सेवाग्राहीको सङ्ख्या भने बढिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले इमर्जेन्सी र ओपिडीमा सेवा लिने बिरामीहरु दैनिक १६ जनाभन्दा बढी हुने गरेका छन् । विगतमा दैनिक एक÷दुई जना मात्रै बिरामी आम्दा अस्पताल पुग्ने गरेका थिए । अस्पतालमा दम, प्रेसर, सुगर लगायतका बिरामीहरु बढी स्वास्थ्य जाँच गर्न आउने गरेको थापाले बताए ।२०६५ साल मङ्सिर २० गतेदेखि सो अस्पताल सञ्चालनमा आएको थियो । त्यसबेला अस्पताल खोल्ने चर्चा सुरु भएसँगै स्थानीयले जग्गासमेत दिएका थिए । स्थानीय ठाउँमा भरपर्दो उपचार सेवा पाउने आशामा मेचीनगरबासी खुशी भएका थिए । तर, व्यवस्थापकीय कमजोरीका कारण अस्पताल सेवा सोचेजस्तो हुन सकेन ।

विविध कारणले गर्दा अस्पताल कहिले बन्द त कहिले सुचारु हुँदै आएको थियो । तर, एक वर्षयता अस्पतालले विस्तारै गति लिएको छ । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको सो अस्पताल सञ्चालनका लागि स्वयम् नगरपालिका, मेची उद्योग वाणिज्य संघलगायतका अन्य संस्थाहरुले सहयोग गर्दै आएका छन् । मेचीनगर नगरपालिकाले २ लाख ५० हजार बराबरको ल्यावका लागि चाहिने सामाग्री खरिद गर्न सहयोग गरेको छ । उक्त बजेटबाट रगत परीक्षण गर्ने कुलीनका लागि एसी मेसिन खरिद गरिएको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तै, प्रशासन सञ्चालनका लागि प्रिन्टर, इन्भटरलगायतका सामाग्री जडान गरिएको अस्पतालका सहायक प्रशासन प्रमुख थापा बताउँछन् ।

प्रतिकृया दिनुहोस्