News Portal

  • राप्रपाले आन्दोलन र महाधिवेशन सँगसँगै लैजाने

    रातोपोस्ट संवाददाता
    ७५ पटक

    काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्। पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष थापाले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापना गर्ने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

    उनले सरकारको अदूरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले जनतामा थप निराशा पैदा भएको बताए। भ्रष्टाचार , बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सक्रियतामा जोड दिए।

    हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिन–प्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नको निमित्त समयसीमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए। कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुव बहादुर प्रधान र भाष्कर भद्रा लगायतले बोलेका थिए।

    प्रतिकृया दिनुहोस्