News Portal

रोलिङ क्लवमा नयाँ नेतृत्व चयन, एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले जग्गा दिने

रातोपोस्ट संवाददाता
११५० पटक

धुलाबारी,१७ मंसिर । खेलकुद गतिविधिमा कुनैबेला पूर्वकै ठूलो क्लबको रुपमा परिचित रोलिङ क्लव धुलाबारीको नयाँ नेतृत्व चयन भएको छ । रोलिङ क्लब २०२८ सालमा स्थापना भएको हो ।

आगामी तीनवर्षे कार्यकालका लागि नोमेम्बर विक्रम नेम्वाङको अध्यक्षता समिति गठन भएको छ । २१ सदस्यीय समितिको उपाध्यक्षमा धनराज थापा र इन्द्र आङ्दाम्बे, सचिवमा महेश खड्का, सहसचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा रोशन बुढाथोकी छन् ।


मेचीनगरको बाँसवारी सिमसार क्षेत्रमा बुधबार (आज) आयोजित क्लबको पद हस्तान्तरण कार्यक्रमका बीच पूर्व तथा वर्तमान खेलाडीलाई सम्मान समेत गरिएको छ । पूर्व खेलाडी नरेन्द्र कुमार खड्का र खेलाडी पूजन उपरकोटीलाई सम्मान गरिएको हो । खड्का हालै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् भने उपरकोटीले राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् ।
कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले सहयोगको घोषणा गरेका छन् । उनले क्लवको भवन निर्माणका लागि १० धुर जग्गा दिने वचन दिएका हुन् । मेचीनगरको धुलाबारी बजारस्थित हनुमान टोलमा रहेको जग्गा नेम्वाङले क्लवलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का र १० का वडाध्यक्ष सुदय पनेरुले खेलकुद विकासका लागि भनेर क्लवलाई क्रमशः १० लाख र २० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना ,धुलाबारी बजार व्यवस्थापन समिति अध्यक्ष रविन कुमार बस्नेत लगायतले पनि मन्तव्य राखेका थिए ।

नोमेम्बर विक्रम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ रहेका थिए । कार्यक्रमको सञ्चालन इन्द्र आङ्दाम्बेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्