News Portal

उपमेयर उप्रेती चढेको गाडी जलाउने प्रयास

रातोपोस्ट संवाददाता
१०३४ पटक

मेचीनगर, १८ मङ्सिर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे१झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेका छन् । जलाउने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन् ।

गाडी जलाउन खोज्ने दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिइन् ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला आज अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।

पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् ।

‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचे’, उनले भनिन् । घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्