News Portal

मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितिन्

रातोपोस्ट संवाददाता
११६१ पटक

काठमाडौं, २० मङ्सिर । मिस नेपाल वर्ल्ड-२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको ग्रान्ड फाइनलमा २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपालको ताज पहिरिएकी हुन् ।

उनी पेशाले किन्डरगार्टन टिचर हुन् । काठमाडौंकी २२ वर्षीया नम्रता दोस्रो पटक मिस नेपालमा सहभागी भएकी हुन् । उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् । आयोजकले ‘कल्पना गर्नुहोस् तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’ भन्‍ने प्रश्‍नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । मिस नेपाल श्रेष्ठले अब चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । यस्तै मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितेकी छन् भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेकी छन् ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राना भएकी थिइन् । शनिबार सम्पन्‍न प्रतियोगिता २५औं हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तालिम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगिलाई तालिम प्रदान गरिएको जानकारी दिए । प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।

प्रतिकृया दिनुहोस्