News Portal

लेडी जेसीजले बनाइदियो लाफा आमाको घर

रातोपोस्ट संवाददाता
६६९ पटक

मेचीनगर,२१ मंसिर । बर्खाको समयमा आएको हावाहुरीका कारण मेचीनगर–९ जेसीज गाउँकी एक बृद्धाको घर हावाहुरीले भत्काइदियो । घामपानी छेक्ने एउटा सानो छानो पनि हावाहुरीले उडाइदिएपछि विस्थापित भएर छोरीको घरमा बस्न थालिन् ।

घरबार बिहीन बनेकी ती लाफा आमाको त्यो दर्दनाक अवस्था मेचीनगर लेडी जेसीजले नजिकबाट देख्ने अवसर पायो । जुन समयमा जेसीज सप्ताह सुरु हुन लागेको थियो ।

मानवताको सेवामा काम गर्ने संस्थाले सोही ठाउँमा लाफा आमैको घरको त्यो अवस्था देखेपछि सोही समयमा मेचीनगर लेडी जेसीजको पहलमा घर बनाइदिने वचन दियो । त्यसपछि घर बनाउने अभियानमा लाग्यो । त्यसका लागि मेची अभियानका संयोजक विजय डालमियाले दर्विलो साथ दिए ।

शाखाले अन्य विभिन्न संघ संस्थाहरु, शाखाका साथीहरुको सहयोगमा काम सुरु गरेको १ महिना १५ दिनमा घर निर्माण गर्यो । जुन घर ती लाफा आमालाई शनिवार विशेष कार्यक्रम गरी हस्तान्तरण गरेको छ । घर निर्माणपछि घरको चावी हस्तान्तरण गर्दा ती वृद्धा आमाको अनुहारमा एक किसिमको खुशीको चमक देखिन्थ्यो भने केही भावुक पनि । अर्कातिर जेसीज टिमको खुसी देखिन्थ्यो । एउटा गरिब परिवारलाई त्यसमा पनि एक्लो बृद्धा आमाको घर निर्माण गरेर हस्तान्तरण गर्न पाएकोमा ।

शाखाकी अध्यक्ष तुलसा दंगालले घर हस्तान्तरण पछि आफ्नो फेसबुक वालमा तस्विर पोष्ट गर्दै आफुले केही समय अघि गरेको प्रतिबद्धता पुरा गर्न पाएकोमा खुसी व्यक्त गरिन् । साथै उनले आफ्नो कार्यकाल सकिदै गर्दा सानो भए पनि सत्कर्म गर्ने अवसर प्राप्त भएको र यस सत्कर्ममा साथ दिने सबैमा धन्यवाद व्यक्त गरेकी छिन् ।

१ लाख ५० हजार रुपैयामा निर्माण गरिएको उक्त घर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा मेची अभियानका संयोजक विजय डालमिया, वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल खड्का, वडा नम्बर १० का वडा अध्यक्ष सुदय पनेरु, शाखाकी संस्थापक अध्यक्ष कविता शर्मा, पूर्व अध्यक्ष टिका सुवेदी, सुनिता पनेरु, निवर्तमान अध्यक्ष मञ्जु खनाल लगायत जेसीज टिमको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्