News Portal

हिरासतका ३७ दिन, जसले शतिसाल बन्ने प्रेरणा दिइरह्यो

✍️प्रबीण मिश्र "मनिष"
९१९ पटक

झापामा जिम्मेवारी समालेको ९ महिना बितिसकेको थियो, आक्कल- झुक्कल बाहेक मजाले परिवारसंग फोनमा समेत कुरागर्ने अनुकुलता मिलिराखेकोे थिएन , भेटघाटको त झन कुरै भएन । क. ओम पुनको नेतृत्वमा पुर्बमा अभियान चलिरहेको थियो, राज्यले दमनको योजना बनाइरहेको आभाष मिल्थ्यो। हाम्रो राजनैतिक अभियानमा अवरोध र बल प्रयोग हुनथालेका थिए, केही साथिहरु गिरफ्तार पर्दै हुनुहुन्थ्यो । राज्यका एजेन्टहरूले विभिन्न सुत्रबाट हामिलाइ दमनको तरवार देखाएर तर्साउने प्रयत्न गरिरहेका थिए ।

जनयुद्ध दिवसको अवसरमा इलाममा भएको विशाल जनसभा पछि उनिहरु(राज्य) थप त्रसित भएको आभाष हुन थियाे ।फागुन ५ गते झापा सदरमुकाम चन्द्रगढिमा जनसभा थियो, हामिहरु उक्त सभाको तयारिमा थियौं । सभामा हस्तक्षेप हुन सक्ने संकेत पाएकाले सचेत पहल र उच्च सतर्कताका साथ तयारि गरेका थियौ। प्रशासनबाट भएको सामान्य अवरोधलाइ डिएसपी महेन्द्र श्रेष्ठसंगको कुराकानि पछि सहजताका साथ भब्यरुपले सम्पन्न गरियो। क. सुमन सिंह र म लगत्तै काठमाडौं जाने,  प्रकाशनको काम गर्ने र पारिवारिक भेटघाट गर्ने योजना पुराहुन पाएन, म अन्य कामको चापले झापामै रहने र क. सुमनसिंह प्रकाशनको कामले काठमाडौ जाने निश्चित भयो । भरे भोलि भन्दा भन्दै प्रतिबन्ध पछि पारिवारिक भेटघाट गर्ने कुनै अनुकुल समय मिलिरहेको थिएन ।

एक महिना अघिबाटै (श्रीमती ) अस्मिता जि को स्वास्थ्य अवस्था गम्भीर भएको खवर आइरहेको थियो, पार्टी कामको तिब्रता र जिम्मेवारी पन्साएर पारिवारिक भेटघाटमा जान सकिरहेको थिइन, नानि र बाबुहरुको ब्यवस्थापन र प्रतिकुल स्वास्थ्य अवस्थालाइ अस्मिताजीले चिर्दै हुनुहुन्थ्यो। प्रतक्ष्य र परोक्ष पार्टी पीबिएम दाइ अनिल बिरही र ब्युरो इन्चार्ज दिदी क. शिलुको सुझाब र सहयोगले मलाइ भरथेग गरेकै थियो। भाद्र २६ गते बेलुका ८ बजे नारायणघाटको बस चढाएर क. संजय पार्टी काममा लाग्नु भयो , दाइ टीका पोखरेल र अनुल सारु मगर पार्टी कामकै शिलशिलामा दक्षिणी झापा झर्ने कुरा थियो। संघर्षको तिब्रतासंगै राज्यको नाङ्गो दमन धरपकड चलिराखेकै थियो, क. कुमार र निरकुमारर राजु लगायतको बलिदान अनि झापालि जनताको सहयोगले निरन्तर बर्ग प्रतिको प्रतिबद्धता सहित क्रान्तिको बाकि कार्यभार पूरा गर्न थप उत्प्रेरणा थपेको थियो।

२७ गते भरतपुर क्यान्सर अस्पतालमा बाएप्सि गरि २८ गते अस्मिताजीलाइ काठमाडौ पुर्याइ , नानि र बाबूसंग भेटेर २९ गते बिहानै पुर्ब लागेको थिएं म । लामो समय पछिको भेटले नानि र बाबु बस्न कर गरिरहेका थिए ,  रोग प्रतिरोध गरिरहेकी अस्मिताजीको मुहारमा केहिदिन बसिदिए हुन्थ्यो भन्ने भाब प्रष्ट देखिएपनि केही भन्न सक्नु भएको थिएन,   क. सुमनले अस्मिताजीको स्वास्थ्य अवस्थाबारे जानकारि लिएसंगै बाएप्सिको रिपोर्ट आएपछि के गर्नुपर्ने गर्नेगरी भाउजुलाइ आराम गर्न लगाएर काममा फर्किन सुझाउनु भएको थियो। रातको ९:४५ बजे बिर्तामोड झरियो,  मसंग कुनै सवारी साधन थिएन,  दाइ टीका पोखरेललाई लिन आउन भनें , वहासंगै भाइ अनिल र म बासस्थान लागियो ।

केही बुद्धिजीवी र कर्मचारिसंगको छलफल ३० गते थियो,  बिहान ८ बजे पुर्बनिर्धारित भेटघाट छलफल कार्यक्रममा लाग्यौं, यात्राले थाकेर होला सायद दाइले साधन चलाउनुभो, म पछि बसें अरुबेला प्राय म साधन चलाउथें । बिर्ताबजारको पश्चिम पट्टि  पुगेको के हुदोंहो ३ वटा मोटरसाइकलको घेरामा परियो , दाइले अत्तालिदै के कसो गर्ने भन्नु भो मैले परिस्थिति हेरिकन गाडि रोक्न र नभाग्न भने किनकि हामी ९ जना हतियारधारी साधापोसाकका प्रहरिको घेरामा परिसकेका थियौं । हामीसंग प्रतिरोधका लागि जनताको मुक्तिको सपना , बिचार र दृष्टिकोण बाहेक अन्य कुनै भौतिक हतियार थिएन ।अश्लिल शब्दका बर्षासंगै हत्कडिहरु भिराइए , कोहि कुमार पौडेल बनाउने भन्थे भने कोहि नीरकुमार बनाउने ऐलान दिदैं थिए ।

मैले गिरफ्तारीप्रति गर्व रहेको बताउँदै, मृत्युु स्विकार्न तयार रहेको बताएं ,गाली नगर्न र मर्यादामा वस्न भनें । ५ मिनट नबित्तै सयौं सर्बसाधारणले घेरा हालिसकेका थिए, कोहि चोर हो कि भन्थे, कोहि केके लख काट्दैथिए , प्रहरी मध्येकै केहिले फोन गरेर गाडि मगाउदै थिए , केही चाहि आतंककारि हुन्, भागे मार्छौ भनेर जनता समेत त्रसित पार्दै थिए। करिब ७, ८ मिनेट पछि सेतो बुलेरो जुन बुलेरो र टिमले शिलु र सुमन समेत गिरफ्तार गरेको रहेछ । ६, ७ जना सादा पोशाकका थप प्रहरी आए ,  जसको नेतृत्व प्रदेश कार्यलय बाटै खटिएका बबिन्द्र नेम्वाङले गरेका रहेछन् । उनिहरुले गाडिमा राख्ने तरखर गरे, जनताले फोटो र भिडियो खिचेको देखिरहेंको थिएं , मलाइ हाम्रो गिरफ्तारी भन्दा पनि त्यहिदिन भेटघाटको समय मिलाएको ब्युरो इन्चार्ज फस्नुहुन्छ कि भन्नेमा चिन्ता थियो,  हाम्रा फोन उनिहरु रिसिभ गर्दै थिए , जब गाडिमा राख्ने तरखर गरे हामीले नारा लगायौं ।
एकीकृत जनक्रान्ति – जिन्दावाद
नेपाल कम्युनिस्ट पार्टी – जिन्दावाद
महासचिव क। बिप्लब – लाल सलाम

गाडिमा राखेपछि आखांमा पट्टि बाँधियो,  हत्कडिहरु भिराएकै थिए , कुनै अप्रिय घटना त घटाउदैनन् मनमा शंका थियो तर १०-१२ मिनट जति पछि पट्टि खोलियो , हामीलाइ चारआलि चौकि लगिएछ , हामीलाइ फरक फरक कोठामा राखियो , कोठामा बसेको १0-१५ मिनेट हुँदोहो १ जनाले बबिन्द्र नेम्वाङलाई कसरी फोटोसहित पक्राउ गरेको खवर बाहिरियो भनेर कडा श्वरमा हपारेको सुनें , पत्रकार लगायत कसैलाई कुनै सुचना नदिन उनले सचेत गराए । मैले हाम्रो गिरफ्तारीको सुचना सामाजिक संजालमा सम्प्रेषण गर्ने जनतालाइ धन्यवाद दिएं  भने यो सुचनाले नेतृत्व पक्राउ हुनवाट जोगिने बिश्वास लिएं ।

रातको ९:४५ सम्म कसैले भेटेन ,  एक पटक मेरै बोलाहट पछि सौचालय लगियो , भोक प्यास र चिन्ताले शिथिल थिएं । रोग प्रतिरोध गरिरहेकी अस्मिताजिलाई  कति पीडा भयो होला कल्पना गरिरहन्थें म । सायद रातको १०-११ बजे हुदों हो १ जना  प्रहरी आएर दाइ इलाम हो घर भनिन् मैले टाउको हल्लाएर हो भन्ने संकेत गरें । घरको नम्बर भए छिटो दिनु सम्पर्क गरिदिन्छु थाहा पाए मलाइ पनि कार्वाहि गर्छन् भनिन्। नम्बर दिएं उनले खवर गरिन् या गरिनन् थाहा भएन तर प्रहरी भित्र पनि हाम्रो बर्गप्रति बिश्वास गर्ने जमात रहेछ भन्ने महसुस गरें।

नमस्कार छ है कमरेड भन्दै एक प्रहरी अफिसर देखापरे, उनी कांकरभिट्टाका डिएसपी रहेछन्। अनौपचारिक कुरा गर्न आएको भनि धेरै राजनैतिक प्रश्न गरे, अब क्रान्ति नहुनें र पार नलाग्ने भनि आफ्नो मत राखे ,  मैले हाम्रो दृष्टिकोण र एकीकृत जनक्रान्तिको सान्दर्भिकता र जनताको समर्थन एबं हाम्रो कार्यक्रमबारे संक्षिप्तमा बिषय राखें । उनले कुरा ठिकै भएपनि एक्लो बृहस्पतिको प्रकाश सुन्य हुने कुरा गरे , साथै राजनितीक अभियान छोडेर भ्रष्टाचार बिरुद्ध सामाजिक अभियान थाल्न भने। मैले राज्यसत्ता र सरकार, आन्दोलन र क्रान्तिबिचको बुझाइ भ्रम र फरकबारे चर्चा गरें ।

क्रान्तिको अनिबार्यता एबं एकिकृत जनक्रान्तिको सान्दर्भिकता सहित नेपाल प्रहरी भित्रका बिकृति र बिसंगति पनि क्रान्तिले मात्र हल गर्ने कुरा राख्दै ०४७ पछिका रबिन्द्र प्रताप शाह बाहेकका प्राय सबै प्रहरी प्रमुखहरु कि जेलमा परेको यात भ्रष्टाचारको मुद्दा खेपिरहेको मात्र हैन बर्तमान प्रहरी प्रमुख सर्बेन्द्र खनाल समेत बर्दि र बुट काण्डमा मुद्दा खेपिरहेको प्रसंग कोट्याउदै भ्रष्ट प्रहरी अफिसरहरुलाइ बहिस्कार गर्न अनुरोध गरें। करिब १ घन्टा माथिको कुराकानी पछि राजनैतिक भबिष्यको शुभकामना छ कमरेड भन्दै बाहिरिए उनी ।

प्रतिबन्ध लागेपछि हाम्रो बसाइ जनताकै घरमा हुने गर्थ्यो, अौपचारिक रुपले घर या कोठामा वस्ने कुनै अवस्थै थिएन । बिर्तामोड आर्कको सेक्रेटरीहुँदै माघतिर एउटा कोठा लिएको थिएं, कहिले काहीँ प्रतिकुल अवस्थामा उपयोग गर्न सकिन्छ भन्ने उद्धेश्य थियो। केहि जोर कपडा , २०० जति किताबहरु र जिल्ला पार्टीको महत्वपुर्ण कागजात स्टोर गरेको थिएं ।

महिनामा १-२ पटक भन्दा आवातजावत पनि थिएन । जिल्ला इन्चार्ज ताराले छिटै अन्यत्र सार्नु पर्छ भन्नु भएको थियो । परिस्थितिको जटिलता बुझेपनि उपयुुक्त ठाउँमा सामान सार्छु भन्दाभन्दै कामको चापले संभव भएको थिएन । जिल्ला इन्चार्ज मा सुमन आएपछि यो कुरा भन्ने समेत मेसो मिलेको थिएन ब्युरो कार्यलयको कामको चापले उहाँ फुर्सदमा हुनुहुन्थेन भने मेरो हालत पनि उस्तै थियो , हामी आवश्यक सरसल्लाह पनि फोनमै गरिराखेका थियौं । गिरफ्तारीको १५-२० दिन अघि कुनै प्रसङ्गमा सुरक्षाप्रति चिन्तित हुँदै ब्युरो इन्चार्ज शिलुले राजनैतिक सामाग्रीको एकैठाँउ केन्द्रीकरण नगर्न, कोठा भए बन्द गर्न र जनताकै निगरानिमा जनताकै घरमा आश्रय लिन कडा निर्देशन दिनु भएको थियो ।

बिदेशि नागरिकलाइ लाखौंलाख पैसा खाएर नागरिकता बेच्ने कथित जनप्रतिनिधि र भ्रष्ट कर्मचारि माथि झापालि जनताको प्रतिरोध तिब्र बनिरहेको थियो,  एनसिएल प्रकरणसंगै देशभर जनताले प्रतिरोध संघर्ष उच्च स्तरमा गरिरहेका थिए। झापा बामपंथी चेतले प्रशिक्षित भएकाले त्यसको प्रभाब नपर्ने कुरै भएन।

सहकारिका नाममा मुठ्ठीभर सन्चालकहरुले जनताको पैसा सोरेर आफु मालिक र पैसाको वास्तविक हकदार जनताहरु रैतिको रुपमा पिसिइरहेका थिए,  हल्दिबारिमा सहकारिकै किस्ता तिर्नुपर्ने दबाबका कारण एकजना ब्याक्तिले आत्महत्या गरेको समाचारले झापाका केही दलाल सहकारिहरुप्रति जनता आक्रोशित थिए,  हाम्रो पार्टीले यसै सन्दर्भमा यी सबै बिषयमा झापालि जनतालाई संघर्षमा उत्रिन अपिल गर्नुका साथै भएका र हुँदै गरेका न्यायपुर्ण संघर्ष प्रति ऐक्यबद्धता जाहेर गरेको थियो।

जनताले स्बतस्फुर्त जनकार्बाही गरेका समाचार एकपछि अर्को गर्दै आइरहेका थिए । राज्य जनताको न्यायिक आवाजलाइ सम्बोधन गर्नुको सट्टा भएका र हुदैगरेका संघर्षलाइ हामी माथि खनाएर दमनको डण्डा चलाउने र जन प्रतिरोध एबं जन आक्रोशलाई मत्थर गरि परिस्थिति लाई बिषयान्तर गर्ने योजनामा थियो,  राज्यको त्यही नियोजित योजना अन्तर्गतनै हामीमाथि वारेन्ट जारि भएको कुरा कसैमा छिपेको थिएन।

रातको १२ बजेको हुनुपर्छ दाइ टिकालाइ प्रहरी भेनमा राखेर कतै लगे,  मलाइ के गर्लान सोचिरहेको थिएं , चारआलि चौकि प्रमुखले तपाईंहरु त एकतला माथि बस्नु हुंदो रैछ है ? युद्ध जितेको योद्धाले ब्यक्त गरेको खुशि झैं हाँसेर मलाइ प्रश्न गरे। मलाइ कतै कोठा त पुगेनन् भन्ने शंका के लागेको थियो भाइ अनिललाई लतार्दै प्रहरी भेनबाट उतारे। म छाङ्गाबाट खसेजस्तै भएं , ब्युरो इन्चार्जको निर्देशन संझिए मेरो थोरै सचेतता भएको भए राजनैतिक सामाग्रि फस्ने थिएन भन्ने कल्पना गरें , मेरो कमजोरिप्रति गम्भिर आत्म समीक्षा गरें । अनिल र मलाइ प्रहरी भेनमा राखेर जिल्ला प्रहरी कार्यलय पुर्याए। हिरासत कक्ष अगाडि डिएसपी महेन्द्र श्रेष्ठ सहित उल्लास युक्त मुद्रामा केही प्रहरी अधिकृतहरु थिए। हत्कडि खोल्न लगाए, मनिषजी हाम्रो भोक निन्द्रा हराम पार्नुभएको थियो आजबाट ढुक्क हुन्छकि भन्दै ढापमारे अनि हात मिलाए । जनताको मुक्ति , न्याय र स्वतन्त्रता प्राप्तिको आन्दोलनलाइ मनिष पक्राउ पर्नु र नपर्नुले के असर गर्छ र रु बरु झापालि जनताको आक्रोश र हाम्रो ग्रैहन्यायिक गिरफ्तारी बिरुद्धको जन संघर्षको सामना गर्न तयार रहनुस भनें । एक महिना अगि पक्राउ परी हिरासत रहेका सक्कल, राजु, योगेस, नरपति र गणेशहरु उठेर हेरिरहेको देखें । अनिलसंग एकबात बोल्न दिएका थिएनन् ।

उनलाइ अन्य थुनुवाबन्दि भएको अन्तिम कोठामा छिराए, मलाइ बाल थुनुवाकक्षमा एक्लै राखे। भोक प्यास र तनाबले थकित नहुने कुरै भएन डिउटि प्रहरी जवानलाई पानी मागें , पानीसंगै एउटा पातलो तन्ना दिए आधा ओडि आधा ओच्छ्याइ ढल्किएं, मनमा अनेकन कुरा खेलिरहेका थिए कतिबेला निदाएं पत्तै भएन ।

बिहान ८ बजेको रहेछ । एसपीसँग भेट्ने खवर आयो , उठें मुख धोएं र तयार भएं । तँ हो मनिष ? हजुर मै हो प्रतिउत्तर दिएं । म हिन्दुधर्म मान्ने भएर मात्र हो नत्र तेरो कुमार पौडेलको हालत हुन्थ्यो भन्दै मनोबैज्ञानिक टर्चर गर्न सुरु गरे। मैले राजनीतिक प्रतिवाद गरिरहें , मलाइ कसैसँग बोल्न दिएको थिएन। एक्लै दिनरात काट्न गार्हो हुँदै थियो।

पत्रिका पढ्नदिन ३ दिनपछि  माग गरें । कोतगार्ड प्रमुखलाइ भनेपछि पत्रिका पढ्न मिल्न थाल्यो समय कटाउन केही सहज भयो । दशैं मुखमै आउदै थियो न फोन न भेटघाट दिनहरु यसरिनै कट्दै थिए। ५-६ दिन पछि मुद्दा फाटँ लगियो प्र. नि. केशब अधिकारीको उपस्थितिमा पत्रकार महासंघका पुर्ब के.सदस्य लोकतन्त्र पोष्टका सम्पादक दाइ मोहनकाजी र दिदी अम्बिका भण्डारीसंग कुरा गर्ने अवसर मिल्यो । मेरो अवस्था बुझ्नु भयो, मैले जे अवस्था हो त्यहि राखें । संगै मेरा मित्र अधिकारकर्मी अर्जुन बस्नेत लगायतलाई भेट्न चाहेको सन्देश पठाएं। भेटघाट नदिएकोबारे उँहाहरुको जिज्ञासामा अनुसन्धान हुदैछ केही दिनमा बयान सकिएपछि भेटघाट दिइन्छ भन्ने जबाफ दिए।

जिल्ला प्रहरी प्रमुखको  हामी प्रतिको रवैया ठिक थिएन , बारम्बार निकृष्ठ शब्दले प्रहार गर्थे। एकदिन नेपाल सरकारबाट कर्तब्यनिष्ठ प्रहरीको रुपमा पुरस्कृत भएको र पुरस्कृत भएसंगै सुर्योदय टेलिभिजनमा दिएको अन्तरवार्ताबारे कुरा गरे, तिमिहरुलाई पक्रेर पुरस्कृत भएको भन्थे। मैले हाम्रो दृष्टिकोण र बर्ग प्रतिको प्रतिबद्धता ब्यक्त गर्दै भन्थें । कुनै दिन हाम्रो ग्रैहन्यायिक गिरफ्तारी गरेर पुरस्कृत भएको भनेर जनताले तिमिले पाएका पुरस्कार खोस्ने दिन आउनेछ, हामी आस्थाका बन्दी हौं , हामीलाइ राजनैतिक व्यवहार गर्नुस।

तर किन हो ताप्लेजुङका कमरेडहर प्रति उनले गर्ने व्यवहार नरम लाग्थ्यो , उनिहरु सबैलाई एउटै कक्षमा राखिएको थियो । सायद ताप्लेजुङका साथिहरुले आत्मसमर्पण गर्नेकुरा सहमति गरेका कारण नरम व्यवहार गरेको हुन सक्थ्यो। पछि ताप्लेजुङका बिश्वास गरिएका साथिहरुले दुस्मन सत्ताका अगाडि जिबनको भिख मागेर घुडाँ टेकेपछि मलाइ लागेको संसय पुष्टि भयो । अन्तत ताप्लेजुङका बिश्वास गरिएका र पत्याइएका अनुहारहरुले हाम्रो आन्दोलनप्रति आश्था र बिश्वास गर्ने न्यायप्रेमी जनसमुदायलाई धोका दिदै गद्दारिपुर्ण आत्मसमर्पण गरेरै छाडे , जुन पुर्बको क्रान्तिकारी आन्दोलनको इतिहासमै नकारात्मक बिरासतको रुपमा खडा हुने छ ।

पछिल्लो पटक पक्राउ परेका सबैले नेता मानेका तारा थापा समेतले ताप्लेजुङबाटै आत्मसमर्पण गर्नुले ताप्लेजुङ्गे क्रान्तिकारी आन्दोलन, ताप्लेजुङमा भएको बलिदान, ताप्लेजुङका जनताको आशा, भरोसा र साथको चरम उपहास गर्यो । हामीलाई बिश्वास छ ताप्लेजुङ फेरि उठ्ने छ, कञ्चनजंघा झैं खडा भएर क्रान्तिलाई नयाँ उचाइ प्रदान गर्ने छ। दश दिनको दिन बयान सुरु भयो, ४ वटा मुद्दाको अभियोग पत्र पढें , म समेत बस्ने कोठामा हतियार भेटिएको भनेर अभियोग लगाइएको रहेछ। मैले बयानमा हाम्रो नितिगत कुरामा जोड दिदैं कागजात,  पुस्तक , झण्डालगायतका राजनैतिक काममा लाग्ने सामाग्रीहरुको जिम्मा लिएं र हतियार प्रहरीले आस्थाकै आधारमा फसाउने उद्देश्यले राखेको हो भनेर जबाफ दिएं । बयान सकिए पछि अनिल,  टीकालगायत ताप्लेजुङका साथीसंग खाना समयमा बोल्न मिल्न थाल्यो, मैले अलिक सहज भएको महसुस गरें।

असोज १२ गते रातको १२-१ बजे डिएसपी महेन्द्र श्रेष्ठले बोलाए, मस्त निन्द्रामा थिएं उज्यालो भएको ठानेर जुरुक्कै उठें। उनले २ वटा कालो कफि मगाए, कफि खादैं थियौं , खुदुनाबारिका कुनै मिश्र थरका मान्छेको नाम लिंदै उनको भकारो छेउमा पुरेको बस्तु बिष्फोटक पदार्थ मात्र हो या तयारी बम होर ? बम भए नेपाली सेनाको बम डिस्पोजल टोलिलाई लिएर जान्छौं, नभए आफैं निकाल्छौं यति सहयोग गरिदिन पर्यो भनेर आग्रह गरे।

मैले कडा प्रतिबाद गरें । प्रष्टै थियो ४ वटा मुद्दाको अभियोगमा अदालत उपस्थित हुंदा २ नं न्यायाधीश ज्युले साथमा बरामदि सामान के-के हो ? भन्दा जाहेरी अधिकृत प्र. नि. मिङ्मा शेर्पाले केन्द्रीय परिपत्र थान -२, साधा मोवाइल थान-२, र सवारीचालक अनुमति पत्र थान- १ भनेका थिए,  तुरुन्तै वहाँले बरामदि सामान त्यतिहो भने हतियार खरखजाना मुद्दा कसरी लाग्छ ?

लाइसेन्स र परिपत्रले विस्फोट हुन्छ ? जुत्ता र ज्याकेट पनि बरामद गरेको भन्नु पर्दैन ? जसलाई जे मन लाग्यो त्यो अभियोग लगाउन मिल्छ ?  भनेर हपार्नु भएको थियो,  सायद त्यहि कुरा र मैले दिएको बयान अनि बस्तुगत अवस्थाको विश्लेषण गरि जसरिपनि फसाउने अभिप्रायले षड्यन्त्रका श्रृखला रचियो, २वटा मुद्दा थप गरियो । अखिल ( क्रान्तिकारी) का पुर्ब केन्द्रीय अध्यक्ष (सरकारी नेकपाका) रञ्जित तामाङले एसपीसंग कुरा गरेर मेरो अवस्था बुझेका रहेछन्, सम्पर्क गर्ने  रे भन्ने खवर पाए नम्बर पनि उनैले उपलब्ध गराए। अदालत बयान दिन जाने क्रममा सम्पर्क गरें ,  हिरासतको अवस्था बुझे जे छ त्यहि जानकारि दिएं,  छिट्टै झापा आउंछु,  आएर भेट्छु भने , उनी आए आएनन् तर मलाई भेट गरेनन् । मैले पनि सम्पर्क गर्नु जरुरि ठानिन सायद सरकारी दमनको नीति र हाम्रो प्रतिरोधि मानसिकता बुझेर सम्पर्क गरेनन् होला।

एकदिन पदम राई र बिजय दर्नाल ८-९ बजे बिहान आए , बिजयले पदमलाई म संग चिनजान गराए, सन्चो – बिसन्चो सोदासोद बाहेक अन्य कुरा भएन, अरु साथिसंग के कुरा भयो सुनिएन तर बिजय दर्नालले मलाई म र पदमदाई भेट्न  आएकाे कुरा कुनै हालतमा पार्टीमा खवर नगर्दिनु र टीका र अनिल लाई पनि यो कुरा नभन्न भन्दिन आग्रह गरे।  किन र कुन प्रयोजनले यो कुरा गरे मनमा कौतुहलता पैदा भयो, सायद पार्टी पंक्तिमा उनी केही भ्रम पैदा गर्न खोजिरहेका छन् की भन्ने आशंकाले शुभेच्छुक मार्फत यो कुरा पार्टीलाई खवर पठाएं ।

३७ दिन पछि थुनछेक बहस सुरुभयो, सरकारि वकिलसंग म्यादथप गर्दाकै बखत अभियोग र मागदाबिबारे चर्कै बादबिबाद परेको थियो , मैले कडा प्रतिवाद गरेको थिएं । त्यतिन्जेल मैले कुनै कानुनब्यवसायी राखेको थिइन,  सरकारि वकिलले आफ्नो मागदाबि प्रस्तुत गरेर बाहिरिए । मा. न्यायाधीशले मागदाबि र अभियोगको सारांस पढेर सुनाउदै मेरो धारणा माग्नु भयो मैले  म बिप्लबले नेतृत्व गरेको नेकपाको झापा जिल्ला सेक्रेटरी हो,  बरामद राजनैतिक सामाग्री राजनैतिक उद्धेश्यले राजनैतिक कामकै लागि प्रयोग गरेको हुँ ,  झापालि जनताले स्वतस्फूर्त रुपमा गरेका कार्वाहीप्रति समर्थन भएता पनि मेरो र हाम्रो पार्टीको संस्थागत संलग्नता छैन,  प्रतिबन्ध पछि फसाउने अभिप्रायले हतियारजन्य अभियोग लगाएको हो ,  हतियार मेरो हैन , मेरो साथबाट बरामद भएको पनि हैन, त्यो हतियार आजसम्म देखेको पनि छैन तसर्थ यी सम्पुर्ण झुटा मुद्धा खारेज होस भनेर मत प्रस्तुत गरें । धरौटि खुल्यो ताप्लेजुङका साथिहरु धरौटिमा रिहा भएर सरकारि नेकपा प्रबेश गरे। टिका पोखरेल र म कारागार चलान भयौं , भाइ अनिललाई हिरासतमै फर्काएर लगे।

धरौटि नबुझाएर कारागार चलान भएपनि अझै ४ वटा मुद्दाको सुनुवाइ बाकिँ थिए । दोस्रोपटक बाकिँ मुद्दाको थुनछेक सुरुभयो, अधिकारकर्मी र अधिवक्ता अर्जुन बस्नेत , हरि अधिकारी,  बिमल संग्रौलालगायतका बिद्वान अधिबक्ताहरुबाट बहस भयो।

थुनछेक बहसअघि मा. न्यायाधीशले छुट्टै भेट्नु भयो । तपाईंहरु झापा जिल्लाको पर्नुभो, प्रधानमन्त्री पनि यहिंको, हाम्रा पनि कतिपय बाध्यता छन् भन्दै धरौटि खुल्न सक्ने संकेत दिनुभयो। शब्दमा ब्यक्त नगरेपनि वहाँको आशय प्रधानमन्त्रीको जिल्ला भएका कारण हामीलाई जसरी पनि फसाँउन दवाब आएको प्रष्टै बुझिन्थ्यो। यी सबै परिस्थितिले  बर्ग प्रतिको प्रतिबद्धता सहित शतिसाल बनेर न्याय,  मुक्ति र स्वतन्त्रता प्राप्तिको अभियानमा दृढता पुर्बक उभिरहन झनै उत्प्रेरणा पैदा भैरह्यो।
५ चैत्र ०७६ झापा

प्रतिकृया दिनुहोस्