News Portal

प्रभु साहको प्रश्न, ‘जनता आवासको अर्बौं रुपैयाँ कहाँ गयो ?’

रातोपोस्ट
१४२५ पटक

गौर, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले प्रदेश २ सरकारले जनता आवस निर्माण कार्यक्रमको अर्बौं रुपैयाँ लुटेको आरोप लगाएका छन् ।

रौतहटको गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले दलित समुदायको घर निर्माणका लागि केन्द्रीय सरकारले बिगत तीन बर्षदेखि पठाइएको अर्बौं रुपैयाँ घरै निर्माण नगरी लुटेको आरोप लगाएका छन् ।

संघीय सरकारले बिगत तीन बर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भन्दै उनले प्रदेश २ सरकारसंग जवाफ माग गरेका छन् । ‘घरवारविहीन दलित समुदायको घर निर्माणका लागि संघीय सरकारले अर्बौं रकम तीन बर्षदेखि पठाइएको छ’ साहले भने, ‘तर प्रदेश सरकारको लापरबाहीले दलित समुदायको घर बन्न सकेको छैन ।’

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले अहिले हजारौं दलित समुदायको सो योजना अनुसार घर बनाउन सकिने बताउँदै संघीय सरकारले पठाएको रकम कहा गयो भन्दै प्रश्न समेत उठाएका छन् । प्रदेश सरकार यहाँका जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको उनले बताए । सोही कारण अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडी परेको उनले बताए ।

नेता साहले प्रदेश २ को ८ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास निर्माण कार्य प्रभावकारी रूपमा हुनुपर्ने बताए । ‘जनता आवास निर्माण कार्यक्रमले दलित समुदायलाई प्रत्येक्ष रूपमा सहयोग पुग्छ’ साहले भने, ‘यो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा तुरुन्त नै शुरु हुनुपर्छ ।’ प्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए । राजधानी खबर

प्रतिकृया दिनुहोस्