News Portal

बार्सिलोनामाथि युभेन्टसको शानदार जित

रातोपोस्ट
६८५ पटक

एजेन्सी, २४ मंसिर । मंगलबार राति भएको यूईएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोनालाई पराजित गर्दै युभेन्टसले शानदार जित दर्ता गरेको छ । इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाको खेल भए पनि यसलाई क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको प्रतिस्पर्धाका रुपमा हेरिएको थियो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा युभेन्टस ३–० गोल अन्तरले विजयी भएको हो । युभेन्टसको जितमा खेलको १३ औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरे । पहिलो गोल रोनाल्डोले पेनाल्टीको सदुपयोग गर्दै गरेका हुन् । बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले पेनाल्टी क्षेत्रमा फल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । खेलको २० औं मिनेटमा युभेन्टसले थप गोल गर्दै अग्रता दोब्बर बनायो । दोस्रो गोल उसका लागि वेस्टोन म्याकिनीले गरे ।

पहिलो हाफमै २–० ले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खाएको हो । पहिलो र अन्तिम निर्णायक गोल युभेन्टसले पेनाल्टीमार्फत् गर्यो । खेलको ५२ मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेङलेटले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले पुनः सदुपयोग गरेका हुन् । रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै खेलको ५२ मिनेटमै ३–० को गोल अन्तर बनाएका थिए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा युभेन्टसले शानदार जित दर्ता गरेको हो ।

यो जितसँगै युभेन्टस समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनासमेत दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । गएरातिको खेलमा युभेन्टसको जितसँगै फेरि एक पटक मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धामा रोनाल्डोले बाजी मारेका छन् । रोनाल्डोले च्याम्पियन्स लिगमा १३४ गोल गरेका छन् । सन् २०१६ पछि च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोनाको पहिलो पराजय हो। गएरातिको खेलमा आमने सामने भएका मेस्सी र रोनाल्डो सन् २०१८ को मे पछि पहिलोपटक मैदानमा भेटेका हुन् ।

प्रतिकृया दिनुहोस्