News Portal

माइनस ७ डिग्रीमा सीमा सुरक्षा गस्ती

रातोपोस्ट संवाददाता
६७३ पटक

सिमकोट, २६ मङ्सिर । नेपाल र चीन सीमास्थित हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले माइनस ७ डिग्री तापक्रममा सुरक्षा गस्ती गरिरहेको छ । दुई साताअघि हिल्सामा हिउँ परेको थियो । हिमपात भएपछि हिल्साको तापक्रम माइनस ७ डिग्रीमा झरेको हो ।

गत वर्षसम्म हिल्सा क्षेत्र सुनसान रहन्थ्यो । ५ महिनाअघि हिल्सामा बीओपी स्थापना भएको हो । यसअघि हिमपातका कारण ६ महिना बन्द हुने नाकामा गस्तीलाई निरन्तरता दिइएको बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए । उनका अनुसार जाडो सुरु भएपछि मंसिर पहिलो साताबाटै प्रहरी चौकी लिमी र हिल्सा सदरमुकाममा विस्थापित भएका थिए । अहिले हिल्सा क्षेत्रमा सशस्त्र प्रहरी मात्र छ । जाडोका कारण आसपासका गाउँहरु सुनसान भए पनि सीमा गस्तीलाई निरन्तरता दिइएको केसीले बताए ।

उनको कमाण्डमा हिल्सामा ३५ जनाको सशस्त्र प्रहरी तैनाथ छ । ‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न चौबीसै घण्टा गस्ती गरिरहेका छौं,’ उनले भने, ‘नारा लेकमा धेरै हिउँ परेको छ, तर पनि सावधानीसाथ गस्तीलाई निरन्तरता दिइएको छ ।’ सीमा क्षेत्रमा धेरै हावा लाग्ने भएकाले केही समस्या भएको उनले गुनासो गरे ।

हिमपातका कारण नाम्खा गाउँपालिकामा बाहिर निस्कन समस्या भएको यारिगाउँका छेपाल लामाले टेलिफोनमा बताए । उनका अनुसार पशुचौपायालाई गोठभित्रै थुनेर दिनभरि आगो तापेर बस्नुपर्ने बाध्यता छ । चीनका सुरक्षाकर्मी पक्की भवनमा बसे पनि नेपालतर्फ पूर्वाधारसहित सञ्चार सेवा, रासन, बाक्लो लुगा लगायतको समस्या भएको केसीले बताए । ‘विभिन्न अभावबीच पनि हाम्रा गतिविधि निरन्तर छन्,’ उनले भने, ‘नारा, लिमीकिट र हिल्सा क्षेत्रलाई प्राथमिकता दिइ हिउँ छिचोल्दै नियमित गस्ती गरिरहेका छौं ।’ रासस

प्रतिकृया दिनुहोस्