News Portal

एक सिलिन्डरको मूल्य चौध हजार, हुम्लामा ग्यास प्रयोगकर्ता ७० जना मात्रै

रातोपोस्ट
५०४ पटक

हुम्ला, २७ मंसिर । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको बताए । विद्युत् नियमित नहुने, दाउरा बाल्दा महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा ग्यासको मूल्य चर्को तिर्नुपरेको उनको भनाइ छ । पैसा बढी परे पनि सहज हुने भएको कारण हुम्लामा ग्यास चुलोप्रति आकर्षण बढ्दै गएको छ ।हवाईजहाजमा ल्याउन नमिल्ने र खच्चडमा ढुवानी गरेर हुम्लामा ग्यास सिलिन्डर भित्रिने गरेको छ ।

ग्यास व्यापारी लोकेन्द्र शाहीले हुम्लामा ग्यास महँगो पर्नुको कारण पाँच दिन पैदल लगाएर ढुवानी गर्नु रहेको बताउन्छन् । उनले अग्रिम अर्डर भएपछि मात्र मुगुबाट ग्यासका सिलिन्डर झिकाउने गरेको बताए ।

अर्कोपटक ग्यास भर्नुपर्दा नौ हजार रुपियाँ लाने गरिन्छ । सिलिन्डर व्यापारीलाई फिर्ता दिने र अर्को भरी सिलिन्डर ग्राहकलाई दिने गरिन्छ । हुम्लामा ७० जना ग्यास चुलो प्रयोग गर्ने ग्राहक रहेको छ । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्