News Portal

नाका खुलाउँन माग गर्दै काँकरभिट्टामा भाेलि हस्ताक्षर संकलन

रातोपोस्ट संवाददाता
८८७ पटक

 झापा, २७ मंसिर ।अव्यवस्थित नेपाल-भारत नाका बन्द खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टाका व्यवसायीले हस्ताक्षर संकलन कार्यक्रम गर्ने भएका छन् ।

अव्यवस्थित नाका बन्दले आम सर्वसाधारण मानिसले दुःख पाएको भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार १० बजेदेखि  हस्ताक्षर संकलन गर्ने भएका हुन् । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा  हस्ताक्षर गरेर संघीय सरकारलाई बुझाउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘पहुँचवाला मान्छे मात्र आए, सर्वसाधारण आउन गाह्रो छ,’ ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र)ले भने – ‘सर्वसाधारण आवात जावतमा समस्या आउन नदिन हामीले चौथो चरणको आन्दोलन लिएर आएका हौँ ।’ मेचीनगरका नगरपालिकाबासी,  व्यवसायी  आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएको समेत उनले बताए । सभा सम्मेलन,  विवाह भोजलाई छुट हुन्छ भन्दै, भारतबाट आएकाको ७२ घण्टा पिसिआर रिपोर्ट हुँदा पनि किन गृह मन्त्रालयको चिठ्ठी चाहिने अध्यक्ष (कार्की)ले सरोकारवालालाई प्रश्न गरे ।

पत्रकार सम्मेलनमा होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले मेचीनगरका व्यवसायी भारतकै भर रहेकोे बताए । उनले अब सरकारसँग पनि जनताको विश्वास हट्दै गएकोले चाँडो भन्दा चाँडो स्वास्थ्य मापदण्ड अपनाई नाका खोल्न आग्रह गरे ।

काँकरभिट्टाका व्यवसायी एवं सामाजिक अगुवा रामबहादुर तामाङले महामारीको कारणले बन्द रहेको काँकरभिट्टा नाका खुलाउन मागसहित हस्ताक्षर अभियानमा सहभागी हुन सम्पूणर् मेचीनगरबासीलाई अनुरोध गरे । आइतबार बिहान १० बजे काँकरभिट्टामा गर्ने तय भएको छ, कोणसभा र बृहत् हस्ताक्षर अभियानसँगै अन्तर्राष्ट्रिय नाका खोज्न दबाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ तामाङले भने । सरकारले हाम्रो आन्दोलनलाई वेवास्ता गरी पुस १ गतेसम्म नाका नखोले मेचीनगरका व्यवसायीहरु सीमा नाकामा थर्मल गन लिएर नाका खोल्ने  तामाङले बताए ।

झापाको काँकरभिट्टा र भारतको पानीट्यांकी बजारमा नेपाली र भारतीय नागरिकको आवतजावत हुन्छ । नेपालीहरू सामान खरिदका लागि सीमावर्ती भारतीय बजार जाने गरेका छन् । साथै, झापाका मुख्य बजारहरूमा दार्जीलिङ, सिक्किम, सिलिगढी र आसामदेखि भारतीय नागरिकहरू भ्रमण र किनमेलका लागि आउने गरेका छन् ।

पटक-पटक हामीले सम्बन्धित क्षेत्रमा नाकाको विषयमा ज्ञापन पत्र ध्यानाकर्षण गर्दा पनि कुनै पहल नभएकोले हामी संघर्षमा उत्रिनु परेको होटल व्यवसायी संघका केन्द्रीय सचिव राजु आधिकारीले बताए । अव्यवस्थित नाकाको औचित्य समाप्त भइसकेकोले यातायातसहित नाका सञ्चालनमा सहयोग गरिदिन मेचीनगरबासीलाई अधिकारीलेले आग्रह गरे ।

पत्रकार सम्मेलनमा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र, होटल व्यवसायी संघका केन्द्रीय सचिव राजु अधिकारी, मेची उद्योग बाणिजय संघ मेचीनगरका महिला उपाध्यक्ष विना तामाङ्ग, नगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), रामबहादुर तामाङ, नगर सचिव हस्तबहादुर तामाङ्गलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्