News Portal

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

रातोपोस्ट
६१५ पटक

काठमाडौं, २८ मंसिर । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् ।

कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्धको प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सोही प्रदर्शनको तयारीका लागि व्यस्त रहने भएकाले परिषद् बैठकमा आफ्नो दलको उपस्थिति नहुने जानकारी प्रधानमन्त्रीलाई सभापति देउवाले गराएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । देउवा निकट एक नेताले भने, ‘शुक्रबार मात्रै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको अनौपचारिक छलफलमा समेत बैठकबारे छलफल भएको थियो ।’ तर हाल आएर एकतर्फी रूपमा सत्ता पक्षले नियुक्तिमा अडान लिएकाले भागबन्डा नमिल्दा देउवा बैठकमा नजाने भएको जानकारी दिए ।

ती नेताका अनुसार कांग्रेसले अख्तियार तथा निर्वाचन अयोगमा आयुक्त दिनुपर्ने अडान लिएको छ । यसैगरी अन्य निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने कांग्रेसको अडान छ ।सत्तारूढ दल नेकपाभित्र किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापतिसँग निरन्तर भेट्दै संवैधानिक नियुक्तिका लागि छलफल गर्दै आइरहेका छन् । त्यही सिलसिलामा शुक्रबार पनि अनौपचारिक भेटवार्ता भएको थियो ।

चरणगत छलफलपछि रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सहमति गर्न सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट नेता रमेश लेखकलाई जिम्मा दिइएको थियो । कांग्रेसका तर्फबाट छलफलको जिम्मेवारी पाएका नेता लेखकले भने भागबन्डा नमिलेकाले नभई पूर्वनिर्धारित पार्टी कार्यक्रमका कारण सभापति देउवा बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइएको बताए । राजधानी दैनिक

प्रतिकृया दिनुहोस्