News Portal

  • दलाल पुँजीवादकाे सामाजिक मुखुण्डो

    DB सर्वश्रेष्ठ
    १९९ पटक

    दलाल पूँजीवादका सक्कली  अनुयायीहरु समाजबादको यात्रा तिर दौडिरहेको किर्तिम सोचले इन्द्रजालको खेल झैँ जालझेलको गेम खेल्दै सामाजिक भ्रमको खेती गर्न्नु कति सहज होला ?

    अचम्म मान्नु पर्दैन किनकी पुजीवादी संसदीय ब्यबस्था भनेकै जालझेल षड्यन्त्र अन्याय र अत्याचारको सुत्रधार हो। जसले पुजिबादको जन्म गराउँछ र मानिसलाई लोभी र स्वार्थी बनाइदिन्छ ।यस्तो असमान जनक राजनैतिक ब्यबस्थाले नेतृत्व गरेको हाम्रो देशमा अबको अर्थ राजनीतिको दिशा समाजवादको यात्रा हुनेछ भनेर संविधानको प्रस्तावनामा उल्लेख गरेको छ, तर संविधानको अन्तर बस्तु पुर्णरूपमा नेपाली अर्थ राजनीतिमा दलाल पूँजीवादले नेतृत्व गरेको छ । यस्तो अवस्थामा कसरी समाजबादी यात्रा तयार हुन्छ ? आज सर्वत्र चासो र जिज्ञासा हुन थालेको छ ।

    समाजवादी व्यवस्था जहाँँ योग्यता अनुसारको काम र आवश्यक अनुसारको पारीश्रम प्राप्त हुने वा श्रमको उचित मूल्य हुन्छ । श्रम गर्न सामर्थ्य राख्नेहरुलाई फलदायी र समाजमा भएको असमान्ताको अन्त हुन्छ! जेष्ठ नागरिक, अपाङ्ग, असहाय जो शारिरिक श्रम गर्न असमर्थ हुन्छन, उनीहरुलाई सामाजिक सुरक्षाकाे सुविधा प्रदान गरिन्छ। जसले उनीहरुको जीवनयापन, स्वास्थ्य उपचार, मनोरञ्जन लगायतका सुविधालाई सुनिश्चित गर्दछ । समाजबादको एक खुर्किलो त्यहाँ भेटिन्छ । तर यसकाे ठिक उल्टो दमन, अत्याचार, दम्भ, घमण्ड र लोभ- लालचले नक्कली सामाजबादीहरुलाई मुखुण्डो खोलिदिएर समाजमा नाङ्गो बनाइदिएको छ तर पनि नेपाली जनतालाई भ्रमपुण यात्राको पर्दा बन्द छ भन्ने चिन्तन कायम नै रहेको छ ।

    समाजमा विद्यमान बेरोजगारीको स्थितिको अन्त्य गरि आर्थिक समानता र सामाजिक न्यायको सुनिश्चितता संगै उच्च र दिगो आय बृद्धि बाट सम्बृद्धि समाजका लागि सोच चिन्तनमा बिजय हासिल गर्दै समाजवाद प्राप्तीको दिशामा अगाडी जाने जुन बाटो छ, त्यस्को अबरोध दलाल पुजीवादी ब्यबस्था र त्यसका मतियार समाजका आयातित पुजिबादका बुख्याचाहरूबाट मुलुकमा अवरोध सृजना गरेको छ यो राजनैतिक कुरा हो ।

    अर्थतन्त्रको सभालमा

    यतिखेर मुलुकको अर्थतन्त्र अत्यन्तै निराशाजनक अवस्थाबाट गुज्री रहेको छ । ५० को दशक देखी मुलुकमा खुल्ला एवं उदार अर्थनीतिलाई अवलम्बन गर्न थाले यताको साढे तिन दशकमा भएका आर्थिक क्रियाकलापले देशलाई आत्मनिर्भर होइन पर निर्भर बनाउँदै लगेको छ । यसो हुनुमा उदार अर्थनीतिले राज्यले उत्पादन, वितरण र सेवा क्षेत्रबाट क्रमशः हात झिक्नु पर्दछ भन्यो र यि सबै काम नीजि क्षेत्रले गर्दछ भनेर अर्थतन्त्रलाई खुल्ला छोडियो । तर उदारीकरणले देशमा विकास गर्नुको सट्टा दलाल पुँजीको विकास गर्न थालेको छ ।

    सामाजबादको नारा लगाउनेहरु निहित स्वार्थ बोकेका पुजिपतिका फेरो समातेर बिचौलिया बन्ने र कमिसनको ठूलो खेलमा लाग्न्नु र पुरातनवादी सोच चिन्तनलाई मल जल गर्दै उदारीकरण नीतिमा जहाँ नाफा हुन्छ, जहाँ थोरै श्रमिक र थोरै तलब सुविधा दिए हुने क्षेत्रमा नीजि क्षेत्रले हात हाल्यो । यस क्रममा उद्योगधन्दा खोलेर उत्पादन र रोजगारी बृद्धि गर्नुको सट्टा व्यापार गरेर कमिसन र मुनाफा कमाउने तर्फ नीजि क्षेत्र लाग्यो। उनिहरुलाई प्रोत्साहन गर्दै दलाल पुँजीको विकास र संरक्षक बन्न थाल्योे र देशमा उत्पादित बस्तुमा निरुत्साहित गर्दै राष्ट्रिय गौरबका कलकारखानाहरूमा ताला झुन्ड्याएर बहुराष्ट्रिय निगमका कम्पनीले उत्पादन गरेका बस्तु भित्र्याउन सहजीकरण गर्दै बजारमा विदेशी बस्तु छ्यापछ्याप्ती बनाउने भुमिका खेल्न थाल्योे ।

    त्यस पछि विदेशी बस्तुको तुलनामा स्वदेशी उत्पादित बस्तुहरु महंगो हुन थाले । स- साना , मझौला उद्योग क्रमशः धारासायी हुन थाले। कच्चा पदार्थ अभावको कारण देखाउँदै नयाँ उद्योग धन्दा खोल्नु भन्दा व्यापार गरेर नै मुनाफा कमाउने व्यापारिक नीति बनाएर आफुलाई मझौला बनाउनुका कारण अहीले मासिक झण्डै साढे २ खर्बको हाराहारिमा व्यापार घाटा पुगेको छ, यता निर्यात व्यापार आयात व्यापारको तुलनामा नगन्य छ । आयात व्यापार र निर्यात व्यापारको अनुपातको खाडल झन झन बढ्न थालेको छ ।

    कुल ग्राह्यस्थ उत्पादन ३० खर्बको हाराहारीमा रहेको छ, तर बस्तु आयातमा १३\१४ खर्बको रकम विदेशीने गरेकोे छ । यस्तो अवस्था निम्ताउने पुजिबाद र त्यसका दलालहरुले कमिसनको लोभमा देशभित्र उत्पादनशील उद्योग र व्यवसायको विकास गर्न बाट रोक लगाउँदा ८० लाख भन्दा बढी युवा बेरोजगारहरु रोजगारीको खोजीमा विदेश तिर जान बाध्य भएका छन् । गरिब, मजदुर किसानको ब्याध्यतालाई अनि आफ्नो आय आर्जनको माध्यम बनाएर आफ्ना कार्यकर्तालाई एजेन्ट खडा गरि बिदेशीलाई बिक्री बट्टा गरि दासहरुको मुलुकको रुपमा स्थापित गर्न पनि पछि नपर्ने कार्य गर्नु भनेको दलालपुँजीवादको विशेषता हो ।

    यो ब्यबस्थाले विदेशी पुँजी र उत्पादनमा पनि बैदेशीक रोजगार गरेर प्राप्त भएको रेमीटान्स अर्थतन्त्र धानेको भनिए पनि केही प्रतिशत भन्दा बढी रेमिट्यान्स रकम उपभोग्य क्षेत्रमा नै खर्च हुने गरेको छ । यसो हुनुमा जनताका आधारभूत आवश्यकताका बस्तु तथा सेवाहरु शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा व्यापारीकरण र नीजिकरण भएको छ । यसै भएर महंगो मूल्यमा यी बस्तु खरीद गर्नुपर्ने हुँदा उपभोग खर्च बढेर गएको हो । देशमा ९ खरबको हाराहारीमा मात्र राजश्व उठ्ने र सो बराबरको रकम नै साधारण खर्च हुने गरेको कारण विकास निर्माणका लागि राजश्वबाट राष्ट्रिय पूँजी नै निर्माण नहुने स्थिति बन्दै गएको छ । झन अहिले त विश्वव्यापि रूपमा फैलिएको (काेभिड- १९) कोराेना भाइरसले त यो अर्थ ब्यबस्थालाई पुरै तहस नहस बनाएको छ ।

    यसरी एकातिर देशमा भएको रकम विदेशी बस्तु खरिद मै केन्द्रित हुने र यसले अर्को देशको उत्पादनमा सहयोग पुर्याउन थालेपछि दलाल पुँजीबादलाई सहयोग पुग्दछ । यसरी विदेशीएको पूँजीले नत उत्पादनमा, नत श्रममा नत रोजगारी बृद्धिमा नै सहयोग पुर्याउँदछ । यस्तो पूँजी नै दलाल पुँजी हो । काल माक्र्सको भाषामा भनिए अनुसार विदेशी पूँजीको दलाली गर्ने र विदेशी माल बस्तुको विक्री वितरण गरि कमीशन खाने र अधिकतम मुनाफा कमाउने गरि त्यस तर्फ लगानी गरिएको पूँजी नै दलाल पुँजी हो ।

    दलाल पुजिले बनाउने संयन्त्र भनेको व्यापार गर्दा कर छली गर्न र कर मिनाहाका लागि कर्मचारी तन्त्र, राजनीतिज्ञ र प्रशासनिक संयन्त्र सम्म आफ्नो पहुँच राख्ने र अकुत धन सम्पत्ती आर्जन गर्ने गरी ब्यक्तिगत पुजिको बिकाशमा लागि पर्ने प्रवृत्तिमा हिस्सेदार भएर उभिनुनै दलाल नोकरशाही पूँजीवाद हो । यस्तो दलाली गर्नेहरुले तल्लो तहको प्रशासन, जन प्रतिनिधि देखी उच्च तहका प्रशासन, राजनीतिज्ञ, न्यायालय सबैतिर सञ्जाल फैलाएका छन् ।
    दलाल पूँजीले एकाधिकार, र बिचौलियाहरुलाई प्रोत्साहन गर्दछ ।

    थुप्रै विकास निर्माणका ठेक्कापट्टा एक जना मात्र व्यक्तिले प्रशासन र राजनीतिज्ञको सहयोग लिएर हत्याउने, तर समयमा योजना पुरा नगर्ने, गुणस्तरहिन ढंगले विकास निर्माणका कार्यसम्पादन गर्ने, कामदार माथी पनि लुट मच्चाउने र उत्पादित पुँजिमाथी एकाधिकार कायम राखी अन्य कारण देखाई सरकारी अनुगमनलाई फितलो बनाउने गरिन्छ भने नेपालमा केही उपभोग्य बस्तुको आयात गर्न एक दुईजना व्यापारीले मात्र लाईसेन्स पाउने र उनीहरुले नै बजारमा बस्तुको अस्वभाविक मूल्य तोकेर सर्वसाधारण जनतालाई महंगो बस्तु खरिद गर्न बाध्य बनाउने जुन प्रबृत्ति छ, यो नै एक उदाहरण हो ।

    नेपालबाट वर्षेनि ७७ अर्ब भन्दा बढी रकम पूँजी पलायन भएको तथ्य हालसालै उजागर पनि भएको छ। गैह्र, बैकिङ्ग प्रणाली (हुण्डी) बाट कारोबार गरेर राजश्व छली गर्दै सुन, लागु औषध, बन्यजन्तु, र अंगहरुको तस्करी, मानव बेचविखन लगायत विदशी मुद्राको अवैध कारोबार गर्नेहरुनै राज्य सञ्चालनका पर्दा पछाडिका हिमाइतीहरु बन्ने र उनिहरुकै गुरु योजनामा सत्ता सञ्चालन हुने गरेको छ ।

    त्यसैले यसरी आयातित महंगो बस्तु जनतालाई निरन्तर किन्न बाध्य बनाउने भएपछि सर्वसाधारणले आर्जन गरेको रकम प्रायः यस्तै महंगो मूल्यमा खरिद गर्नु पर्दा आम्दानी भएको रकम बचत नहुने नै भएर हाम्रो देशमा बचत परिचालन दर ९-१० प्रतिशतको हाराहारीमा मात्र रहेको छ । यसले गर्दा राष्ट्रिय पूँजी निर्माणको दर पनि न्युन रहेको छ । एकातिर राष्ट्रिय पूँजीको परिचालन दर न्युन हुने र अर्को तिर दलालीका माध्यमबाट आर्जन भएको पूँजी राष्ट्रिय पुँजीको दायरामा नआउने अहिलेको अर्थतन्त्र भित्रको प्रमुख बिषय हो ।

    त्यसैले यो ब्यवस्थामा अबैध ढंगले कमाएको पैसा स्वीस बैंकमा मात्रै नेपालीहरुको ९० अर्ब भन्दा बढी रकम जम्मा भएको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालबाट बर्षेनी ७७ अर्ब भन्दा बढी रकम पूँजी पलायन भएको तथ्य हालसालै उजागर पनि भएको छ। गैह्र, बैकिङ्ग प्रणाली (हुण्डी) बाट कारोबार गरेर राजश्व छली गर्दै सुन, लागु औषध, बन्यजन्तु र अंगहरुको तस्करी, मानव बेचविखन, विदशी मुद्राको अवैध कारोबार, गर्नेहरुबाटै यस किसिमको गतिविधि हुने गरेको छ ।

    यि सबै खुल्ला अर्थतन्त्रका नाममा भित्रिएका विकृती र विसंगती हुन। जसले दलालपुँजीबादी ब्यबस्थाको विकास गरेको छ।
    दलाल पूँजीवादको विशेषता भनेकै कर छली गर्ने, कर मिनाहा गराउन राजनीतिज्ञ र कर्मचारीतन्त्रको सहारा लिने, उत्पादनशील एवं रोजगारी बृद्धि गर्ने तर्फ लगानी नगर्ने, आर्जन गरेको रकम देश भित्रै पुर्ण लगानी नगर्ने प्रबृत्ति रहन्छ । अर्थ शास्त्रीय भाषामा भन्नु पर्दा पुँजीले पूँजी पुनः उत्पादन गर्न सक्नु पर्दछ, यसो भयोभने त्यस्तो पूँजी उत्पादनशील पूँजी हुन्छ, जसलाई राष्ट्रिय पूँजीको रुपमा पुनः लगानी गर्न सकिन्छ ।

    पैसा कमाउने (कर छली गरेर) तर उत्पादनशील क्षेत्रमा लगानी नगर्ने, यस्तो पूँजी दलालीको रुपमा विकास हुँदै जादा नेपालमा सम्पत्ती शुद्धीकरण सार्क मूलुक मध्ये जोखिमपूर्ण स्थानमा रहेको छ। नेपालमा अबैध कारोबारको आकार निकै ठूलो भएको र दलाल पूँजीको विकास तीब्ररुपमा बढ्दै गएको सहज अनुमान गर्न सकिन्छ।

    यसरी अर्थतन्त्रमा नवउदारबादका नाममा विकास भइ रहेको दलाल पुँजीवादले देशलाई समाजवादको यात्रा तर्फ लैजान व्यवधान खडा गरिदिएको छ। तर समाजवादी व्यवस्थाका लागि भन्दै दलाल पुजिबादी व्यवस्थामा रमाउँदै जनतामा झुटकाे खेती गर्दै समाजबादकाे सपना बाँडिरहेका छन् यस्तो नाैटङ्कीपुर्ण जालझेलबाट मुक्त हुन जरुरी छ। अहिलेको सत्ताधारी पाटी बिचको अन्तरविरोध पनि बिचार र सिद्धान्तमा नभएर पुजिबादी हरुको अनुकुल अनुसारको सत्ताको लागि मात्र हो यसले कुनै पनि जनताको जिबनमा फरक ल्याउन सक्दैन ।

    प्रतिकृया दिनुहोस्