News Portal

  • ‘उद्योगीलाई कारबाही गरेरै भए पनि उखु किसानलाई पैसा देऊ’

    रातोपोस्ट संवाददाता
    ३४२ पटक

    काठमाडौं, २ पुष । उखु किसानको पैसा नदिने उद्योगीहरुलाई कडा कारबाही गरी पैसा असुल गर्नुपर्ने सांसदहरुले बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले उद्योगीलाई कारबाही गरी उखु किसानको बक्यौता रकम तिराउनुपर्ने बताएका हुन् ।

    बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले उखु उद्योगबाट आम्दानी गरेको रकम अन्य व्यवसायमा लगानी गर्ने तर किसानलाई पैसा नदिने उद्योगीलाई ब्याज सहितको रकम तिराउनुपर्ने बताए । उनले भने, ‘राज्यलाई विभिन्न बहाना गरेर पैसा नतिर्ने र त्यो पैसाले अरु व्यवसाय गर्ने भएकाले उद्योगीले पैसा नतिरेका हुन् । उखु किसानलाई ब्याज तिर्नुपर्छ । किसानले घर जग्गादेखि बिउ बिजनसम्म ब्याजमा लिएर किनिरहेका छन् । उखु किसान चाहिँ माइतीघरमा आएर रोइरहनुपर्ने ? उद्योगीले किसानलाई ब्याज तिर्नुपर्छ ।’

    बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले उद्योगीको सम्पत्तिबाट भए पनि किसानलाई भुक्तानी दिलाउनुपर्ने बताए । जनता समाजवादी पार्टी नेपालकी सांसद अमृतादेवी अग्रहरिले एक वर्ष पहिला पनि उखु किसानको आन्दोलन भएको स्मरण गर्दै त्यतिबेला सरकारलाई निर्देशन दिएको भए पनि सरकारले मौनता साँधेको आरोप लगाइन् । राज्यले उखु किसानको समस्या र चिनी मिललाई प्राथमिकताका साथ हेर्नुपर्ने पनि बताइन् । उनले भनिन्, ‘उखु किसानलाई राज्यले संरक्षण दिएन भने चिनी मिल बचाउन सकिँदैन । पहिलो प्राथमिकता उखु किसानलाई दिनुपर्छ ।’

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठले उखु किसानमाथि अत्याचार भएको भन्दै उद्योगीहरुलाई केही घण्टा समय दिएर पक्राउ गर्नुपर्ने बताए । उनले भने, ‘गोदाममा चिनी छैन रे, चिनी त बेचिसकियो होला त्यो पैसा खोई ? अत्याचार भयो किसानलाई, अब दिनको कुरो होइन, घण्टा भित्रमा पक्राउ गर्नुपर्‍यो । साँवासम्म दिलाउँ । आकाश पताल खोजेर यतिजना समातियो भन्नुपर्यो ।’ सांसदहरुले उखु किसानको समस्या दीर्घकालमा नआउने गरी समाधान गर्न समेत माग गरेका छन् । उनीहरुले अहिलेको समस्या तत्काल समाधान गरी किसानलाई घर फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)