News Portal

संसद विघटन : विरोधमा केपी ओलिकाे गृह जिल्लामा दिउँसो ४ बजे प्रदर्शन हुँदै

रातोपोस्ट संवाददाता
९०२ पटक

झापा, ५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै उनको गृह जिल्ला झापामा प्रदर्शनी हुने भएको छ।

झापाको विर्तामोड, दमक र धुलाबारीमा प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमका विरुद्ध आज दिउँसो ४ बजे प्रदर्शन गर्न लागिएको सत्तारूढ दल नेकपा निकट युवासंघका केन्द्रीय सदस्य कुमार आचार्यले राताेपाेस्टलाई जानकारी दिए । उनका अनुसार उक्त विरोध प्रदर्शन कार्यक्रममा नेकपाका केन्द्रीय तथा प्रदेश नेताहरूले सम्बोधन गर्नेछन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन्। ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको झगडा मिलाउन शीर्ष नेताहरुबीचको शनिबार भेटवार्ता तीव्र बनेको थियो। शनिबार दिनभरजसो नै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहेका थिए। छलफलमा कुरा मिल्न नसकेपछि नेकपाको विवाद थप तनाबपूर्ण बनेको छ।

प्रतिकृया दिनुहोस्