News Portal

संसद विघटन भएसँगै दलहरु छलफलमा, कांग्रेसले बोलायो सर्वदलीय बैठक

रातोपोस्ट संवाददाता
५९९ पटक

काठमाडौं, ६ पुष । पछिल्लो राजनीतिक घटनाक्रम र यसले निम्त्याएका विभिन्न समस्याका बारेमा छलफल गर्न आज दलहरु छुट्टा छुट्टै छलफलमा जुटने भएका छन् । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरुले छुट्टाछुट्टै छलफल थालेका हुन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन् । संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् । यस्तै दाहाल नेपाल समूहले पनि आफ्ना सांसदहरुसँग परामर्श गर्दै छन् । हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गरेकि हुन ।

प्रतिकृया दिनुहोस्