News Portal

संसद विघटनको विरुद्धमा धुलाबारीमा विरोध प्रदर्शन

रातोपोस्ट संवाददाता
१२८२ पटक

झापा, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीले आज धुलाबारीमा विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् विघटन विरोध धुलाबारीमा नेकपाका भातृ सङ्गठनमा आबद्ध युवा र विद्यार्थीले प्रदर्शन गरेका हुन ।धुलाबारी मोडबाट सुरु गरिएको विरोध र्याली सयौंको संख्यामा धुलाबारी मोड परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । विरोध र्यालीमा नेकपाका युवा तथा विद्यार्थीले संसद् विघटन प्रतिगामी कदम भएको उल्लेख गर्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीहरुले प्रतिगामी कदम खारेज गर, तानासाह मुर्दावाद, फासिवाद मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद जस्ता चर्का नारा लगाएका थिए । कोण सभामा सन्चालन गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल झापाका सदस्य राजु धिमालले ओलीको प्रतिगमनकारी कदमलाई घुँडा टेकाउने बताए । त्यस्तै अनेरास्ववियु विद्यार्थी सङ्गठन झापाका संयोजक अनिल सुवेदीले संसद् विघटन जस्तो असंवैधानिक कार्य गरि प्रधानमन्त्री ओलीले जनताले दिएको जनादेशको अपमान गरेकोमा आक्रोश पोखेका थिए ।

अनेरास्ववियु विद्यार्थी सङ्गठन झापाका सहसंयोजक दुर्गा धमलाले संघीय गणतान्त्रिक नेपाललाई ओलीले संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने चेतावनी दिए । उनले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त आन्दोलन सुरु भए झैं प्रधानमन्त्रीविरुद्ध संयुक्त आन्दोलन सुरु भएको बताए । विरोध र्यालीमा नेकपाका नेता विपि भट्टराई, प्रितम काफ्ले, प्रकाश खड्का, राष्ट्रिय युवा संघ नेपालका सरोज मेहेरा, बिनोद मण्डल, रघु धिमाल, लुसन तिवारी, सोम ओझालगायत नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्