News Portal

निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान

रातोपोस्ट संवाददाता
८०३ पटक

काठमाडौँ, ९ पुस । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचनको तयारीमा जुट्न पार्र्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

सरकारले गरेका कामप्रति पार्टीभित्रैबाट नकारात्मक प्रचार गरिएको चर्चा गर्नुहुँदै उनले त्यसलाई चिर्दै जनताको बीचमा जानुपर्ने स्पष्ट पार्नुभयो । बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्यहरूको बुधबार आयोजित भेलामा नेता पोखरेलले भने, “निर्वाचनबारे कुनै द्विविधा राख्नु आवश्यक छैन, तपाईंहरू जनताको साथ नछाड्नुहोस् ।”

भेलामा नेता टोपबहादुर रायमाझीले स्थायी सरकार र समृद्धिको नारा दिँदै गरिएको पार्टी एकताका सुरुआती दिनदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट षड्यन्त्र हुँदै आएको विस्तृत चर्चा गर्नुभयो । नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीतलाई कार्यगत प्रशिक्षण सञ्चालन गरिएको छ । प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. बिन्दा पाण्डेलाई तोकिएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई तोकिएको छ । यसैगरी लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा हुनुहुन्छ । गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल हुनुहन्छ । यसैगरी प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो एवं प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाङ्फेलाई प्रशिक्षकका रूपमा तोकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्