News Portal

लोकतन्त्र पोस्टका फोटो पत्रकार खरेलसहित पाँच प्रतिभा सम्मानित

रातोपोस्ट संवाददाता
१३६६ पटक

झापा, १८ पुस । सुसेली साहित्यिक परिवारले २ जना प्रतिभालाई पुरस्कृत गरेको छ । लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेल र वितामोड निवासी छापाखाना सञ्चालिका कमला (भट्टराई ) पराजुलीलाई पुरस्कृत गरेको हाे ।

खरेललाई सुसेली प्रतिभा पुरस्कार र पराजुलीलाई बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरेको हाे । खरेलले मेचीनगर, झापा र प्रदेश नं. १ का चराहरुको खोज गरेर नेपाललाई विश्वसामू चरा पर्यटन क्षेत्रको रुपमा चिनाउन अभियान सञ्चालन गर्दै आएका छन् भने पराजुली विर्तामोडको बुद्ध अफसेट प्रेसकी सञ्चालक तथा व्यवस्थापक हुन् ।

यसैगरी कार्यक्रममा ३ प्रतिभालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साहित्यकार देवीचरण भण्डारी, शिक्षासेवी इन्द्रबहादुर मुखिया र अञ्जना न्यौपाने रहेका छन् । काँकरभिट्टाको पूर्व मेची बस व्यवसायी संघको सभाहलमा आज आयोजित कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र विशिष्ट अतिथि साहित्यकार चुडामणि रेग्मी थिए । कार्यक्रममा सुसेलीले झापाली स्रष्टाहरुको परिचय समेट्दै प्रकाशित गरेको सुसेली स्मारिकाको १८ औं संस्करण लोकार्पण गरिएको थियो ।

सुसेलीले माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका क्रमशः तपस्या राउत (कवि शिरोमणि), अंकिता धिमाल (पशुपति), दिपीका खाती (भानु) र विष्णु अधिकारी (बलभद्र)लाई सोही कार्यक्रममा पुरस्कार वितरण गरेको छ ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, पूर्व प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाई, धुलावारी क्याम्पसका अध्यक्ष भीम खवास, प्राध्यापक एवम् साहित्यकार चुडामणि वशिष्ठ, अग्रज पत्रकार चन्द्र भण्डारी लगायत जिल्लाभरका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्