News Portal

नेकपामा गौतमले तेस्रो धारको नेतृत्व गर्दै

रातोपोस्ट संवाददाता
५०० पटक

काठमाडौं, १९ पुस । व्यक्तिगत लाभहानिका कारण विभाजन भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वामदेव गौतमले पार्टीलाई एकताको सूत्रमा बाँध्ने काम शुरु गर्नुभएको छ ।

दुई खेमामा विभाजित भएका नेताहरुलाई एकै ठाउंँमा ल्याउने प्रयास असफल भए तेस्रो धारको नेतृत्व गरेर निरास भएर बसेका गाउँगाउँका कार्यकर्तालाई संगठित गर्ने बताउनुभएको छ ।

पार्टी विभाजनमा दुवै पक्षको भूमिका बराबर रहेको बताउँदै आउनुभएका गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफू एक नेकपाको पक्षमा रहेको बताउनुले पनि उहाँको भूमिका पछिल्लोपटक समन्वयकारी नै देखिएको छ ।

आफ्नो मतमा सहमत हुने नेता तथा कार्यकर्तासँग छलफल शुरु गर्नुभएका गौतमले पार्टी विभाजनपछि दुई–तीनपटक प्रचण्ड खेमाका नेताहरुसँग भेट गरे पनि अहिलेसम्म बालुवाटार भने प्रवेश गरी सक्नुभएको छैन । गौतमले एक समूहले अर्को समूहलाई खुइल्याउने कामप्रति असहमति जनाउनुभएको छ भने दुवै खेमाका नेतालाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

अहिले प्रचण्ड समूहले राष्ट्रपतिविरुद्ध व्यक्त गरेका अभिव्यक्तिप्रति आम जनताले असहमति जनाइरहेका बेला गौतमले समेत त्यस्ता अराजनीतिक अभिव्यक्ति नदिन पनि आग्रह गर्नुभएको छ । ‘पार्टीभित्र विमति हुन्छन्, यो कम्युनिस्टहरुको चरित्र नै हो।’ –गौतमले भन्नुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्