News Portal

सीसीएमसी बैठक : कोरोनाका कारण बन्द भएका विद्यालय, फिल्म हललगायत सबै क्षेत्र खुला

रातोपोस्ट संवाददाता
६३१ पटक

काठमाडौं, १९ पुष । कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले महामारीका कारण बन्द रहेका विद्यालयलगायतका क्षेत्रहरु खोल्न मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार बसेको निर्देशक समितिको बैठकले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले जानकारी दिए। ‘संक्रमण घटेकाले अहिले रोक लगाएका क्षेत्रहरु खोल्ने प्रस्ताव लैजाने निर्णय भएको छ,’ उनले भने, ‘अब सिफारिस भएका विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयन हुन्छ।’

सिनेमा घर, विद्यालय, जिमखाना लगायतका क्षेत्रहरु हालसम्म पनि बन्द नै रहेका छन्। बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्नसक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्न सकिने भन्दै सिफारिस गर्ने निर्णय गरेको हो।

नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/ नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरिएको छ।

प्रतिकृया दिनुहोस्