News Portal

भारतमा माघ ३ गतेदेखि काेभिड-१९ विरूद्द खाेप अभियान

रातोपोस्ट संवाददाता
१११४ पटक

भारतले कोभिड-१९ विरुद्ध संसारकै सबैभन्दा ठूलो खोप अभियान सञ्चालन गर्न लागेको छ। भारत सरकारले आगामी शनिवार (माघ ३) देखि देशमा कोरोनाभाइरसविरुद्ध खोप अभियान आरम्भ गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अभियानलाई महत्त्वपूर्ण कदम भन्दै आगामी जुलाई महिनाभित्र ३० करोड मानिसलाई खोप दिइने बताएका छन्। भारतको कुल जनसङ्ख्या १.३ अर्ब छ। मोदीका अनुसार स्वास्थ्यसेवाका कर्मचारी तथा अग्रपङ्क्तिमा कार्यरत अन्य व्यक्तिले पहिला खोप पाउनेछन्।
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा भारत अमेरिकापछि शीर्ष स्थानमा छ।

कोरोनाभाइरस महामारी फैलिएपछि भारतमा १० करोड तीन लाखभन्दा बढी मानिस सङ्क्रमित भएको पुष्टि भएको छ भने झन्डै डेढ लाख जनाको मृत्यु भइसकेको छ। भारतको औषधि नियामक निकायले दुईवटा खोपलाई प्रयोगको अनुमति दिएको छ। तीमध्ये कोभिशील्ड नाम दिइएको खोप एस्ट्राजेनेकाले अक्सफर्ड यूनिभर्सिटीसँग मिलेर बनाएको हो भने कोभ्याक्सीन भारतीय कम्पनी भारत बायोटेक आफैँले निर्माण गरेको हो।

“त्यो दिन (ज्यानुअरी १६) देखिन भारतको राष्ट्रव्यापी खोप अभियान सुरु हुन्छ,” मोदीले शनिवार ट्वीट गर्दै लेखेका छन्। उनका अनुसार चिकित्सक, स्वास्थ्यसेवाका कर्मचारी र सफाइ कर्मचारीसहित अग्रमोर्चाका कर्मचारीले खोपका लागि प्राथमिकता पाउनेछन्।

सरकारले एउटा विज्ञप्तिमा जनाएअनुसार त्यसपछि ५० वर्षमाथिका मानिस तथा स्वास्थ्यसम्बन्धी समस्या भएका ५० वर्षमुनिका जोसुकैले पनि खोप लगाउने पाउनेछन्। भारतमा विभिन्न स्थानमा खोप अभियानका लागि अभ्यास भइसकेको छ। सरकारले ७०० जिल्लामा डेढ लाख कर्मचारीलाई तालिम दिएको छ।

विवाद
परीक्षण सम्पन्न नभईकन सरकारले कोभ्याक्सीनलाई आपत्कालीन अनुमति दिएकोमा विज्ञहरूले चिन्ता प्रकट गरेकै बेलामा सकारले खोप अभियान घोषणा गरेको हो।

अल इन्डिया ड्रग एक्शन नेटवर्क नामक संस्थाले उक्त खोपको प्रभाकारिता देखाउन पर्याप्त तथ्याङ्क नभएको र पारदर्शिताको अभाव भएको भन्दै प्रयोगका लागि अनुमति दिइएकोमा थप प्रश्न उठेको जनाएको छ।
तर भारतका औषधि महानियन्त्रक भीजी सोमानीले कोभ्याक्सीन “सुरक्षित भएको र त्यसले सबल प्रतिरक्षात्मक प्रतिक्रिया उत्पन्न गराउने” दाबी गरेका छन्।

अलिकति ज्वरो, पीडा र एलर्जी सबै खोपका लागि सामान्य भएको तर्क गर्दै उनले भने, “ती खोपहरू शत प्रतिशत सुरक्षित छन्।”
कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?

औषधि नियामक निकायका अनुसार “जनहितमा पर्याप्त सावधानीसहित, विशेषतः उत्परिवर्तित प्रकारले हुने सङ्क्रमणको सन्दर्भमा, क्लिनिकल परीक्षणका रूपमा आपत्कालीन परस्थितिमा नियन्त्रित प्रयोगका लागि” अनुमति दिइएको बताएको छ।

भारत बायोटेकका अध्यक्ष कृष्ण एल्लाले कोभ्याक्सीनको अनुमति हतारमा नआएको बताए।

“भारतको कानुनअनुसार दोस्रो चरणको परीक्षणपछि पाँचवटा प्यारामिटर पूरा हुँदा हामीले खोपका लागि आपत्कालीन अनुमति पाउन सक्छौँ। हाम्रो खोपको सन्दर्भमा पनि त्यही भएको हो। त्यसैले यो अपरिपक्व अनुमति हैन,” उनले भने।

“हामी तेस्रो चरणको परीक्षण चाँडै सक्नेछौँ अनि उक्त खोपको प्रभावकारितासम्बन्धी तथ्याङ्क फेब्रुअरीभित्र उपलब्ध गराउनेछौँ।

प्रतिकृया दिनुहोस्