News Portal

प्राण बचाउने सिटी रिक्साको कथा

रातोपोस्ट संवाददाता
८१९ पटक

मेचीनगर,२९ पुस । पूर्व– पश्चिम राजमार्गमा दैनिक सयौँ ठूला–साना गाडी ओहोर दोहोर गर्छन् । कैयौँ अटो र सिटी रिक्साहरु बेतोडले हुइँकिन्छन् । ५७ वर्षकी लीलाकुमारी कार्कीको ‘सिटी’ पनि यही हुलमा वत्तिदै कहिले काँकरभिट्टा पुग्छ, कहिले धुलावारी ।
एक वर्ष अघिसम्म लीलाकुमारीको जिन्दगी बडो गम्भीर मोडमा थियो । केही समय चरम आर्थिक अभावसंगै पारिवारिक तनाव बरावरी व्यहोरिन् लीलाकुमारीले । एकपटक यिनी डिप्रेसनको सिकार भइन् । ‘धेरै पटक आत्महत्या गरौ–गरौ लाग्यो’, उनले विलौनाले गाइन्,‘तर, मर्ने साहस पनि थिएन मसंग ।’

उनले शुरुमा पति वियोगी भोगिन् । एक्लो जिन्दगी जसोतसो गुड्दै थियो । दोस्रो विहे गर्ने संजोग मिल्यो । पतिको मृत्युपछि महिलाले सधै विधवाकै जिन्दगी वाँच्नु पर्छ भन्ने कहाँ छ र ∕ त्यहि भएर दोस्रो विहे गर्ने निचोडमा पुगिन् । विहे त गरिन् । तर, दुई वर्षदेखि उनका पति सम्पर्कविहीन छन् ।
छोरा छोरीवाट समेत अपहेलना सहनु पऱ्यो । यी यावत समस्यावाट आजित एउटी अवला महिलाले रोज्ने अन्तिम विकल्प मृत्यु नै हुन सक्थ्यो । तर, उनले मृत्यु रोजिनन् । वरु जिन्दगीलाई नै आफूभित्र खोजिन् ।
कैयौ समस्या थिए तर, कहिल्यै हरेश खाइनन् । हार मानिनन् । वरु नयाँ जुक्ति निकालिन् जिन्दगी जिउने । त्यहि मेसोमा यिनले सिटी रिक्सा किन्ने योजना वुनिन् । वहिनीलाई योजना भनिन् । वहिनीले ६० हजार सापटी दिने भइन् । १ लाख १० हजारमा ‘सेकेन्ड हेन्ड’ सिटी किनिन् । ५० हजार स्थानीय एक सहकारीले ऋण दियो । ‘सिटी किनेपछि मेरो सपना आधाउधी पूरा भएजस्तो लाग्यो’, उनले सुनाइन्, ‘आधाउधी चै वाकी नै थियो ।’

उनले सिटी त किनिन् । तर, चलाउन सकिनन् । साइकल पनि नचलाएको मान्छेको सिटी रिक्सा किनेर चलाउने हिम्मत देखेर छरछिमेक पनि चकित खाए ।
एक दिन रिक्सा सिक्दै थिइन् । वाटैमा पल्टियो । जसोतसो ज्यान वच्यो । यिनलाई डर पनि लाग्यो । एक मनले भन्यो, सिटी कुदाउने हुटहुटीले कतै ज्यानै पो जाने हो कि ∕ तर अर्का मनले भन्यो, जे सुकै होस् म सिकेरै छाड्छु ।
जिवन देखि हार नखाएकी उनले सानो सिटी रिक्सा कुदाउन नजान्दा के को हार खाँदिहुन् । खाइनन् । निरन्तर प्रयत्न गरिन् अन्तत: सिकेरै छाडिन् । अहिले कैयौ सिटीको हुलमा उनको थोत्रो सिटी पनि हुइकिन्छ अक्सर राजमार्गमा ।
‘मेरो जिवनको साहारा नै यही हो’, सिटी रिक्सातिर देखाउदै उनी भक्कानिइन्,‘सिटीले नै मलाई जिउने कला सिकायो ।’
अहिले पुसका ठिहीमा लीलाकुमारी बिहानै उठिसक्छिन् । ५ वजे नै काँकरभिट्टाको सर्लिमा विस्कुल कारखाना पुगिसक्छिन् । ९ बजेसम्म विस्कुल वोकेर पसलहरुमा पुऱ्याइदिन्छिन् । जसवापत कारखानाका संचालकले मासिक ७ हजार पारिश्रमिक दिन्छन् । १० वजे खाना खान मेचीनगर ८ आइयावारी आइपुग्छिन् । खाना खाएर पुन: सिटी हुइक्याउदै राजमार्गतिर लाग्छिन् । उनले सिटीको कमाइवाट पुरानो ऋण, सहकारीको किस्ता पनि तिर्दैछिन् । विहान वेलुका हात–मुख पनि जोड्न अहिले गाह्रो छैन। ‘सिटीलाई मैले चलाएकी छु तर, सिटीले चै मेरो सिंगो जिवन चलाएको छ’, दार्शनिक भाषामा लीलाकुमारी भन्छिन्,‘सिटी नै मेरो प्राण हो ।’

प्रतिकृया दिनुहोस्