News Portal

राज्यले टहरामा पुर्‍यायो, टहरबाट हात्तीले लखेट्यो

रातोपोस्ट
७८८ पटक

सशस्त्र प्रहरीको छेउमै छन्, नयाँ बस्तीका सुकुम्बासी । उनीहरू रातभर चिच्याउँदा पनि सुरक्षाका लागि आएनन्, सुरक्षाकर्मी । बरू नयाँ बस्ती छेउबाटै अर्को गाउँमा सुरक्षा दिन गए । वडाध्यक्ष पनि सबैतिर हात्तीको क्षति बुझ्न गए । तर, यो बस्तीको नाम पनि लिएनन्।

झापा । कमल गाउापालिका–५ नयाँ बस्तीकी सुकुम्बासी सावित्रा धिमाललाई राज्यले घरविहीन बनाएको दश महिना भयो । सशस्त्र प्रहरी बल तालिम केन्द्र लखनपुरको जग्गामा बसेको भन्दै सशस्त्र प्रहरीले गत फागुनमा घर भत्काइदिएको थियो ।
तत्कालीन नेकपा माओवादीको दश वर्षे सशस्त्र संघर्षका वेला सुरक्षाका लागि सशस्त्र प्रहरीले सुकुम्बासीलाई राखेको थियो । त्यहीवेला धिमाल त्यहाँ आएकी थिइन् । तर, दश महिनाअघि सशस्त्रको जग्गा अतिक्रमण गरेर बनाएको भन्दै उनले दिनरात दु:ख गरेर बनाएको घर सशस्त्र प्रहरीले भत्कायो । अन्त कहीँ जाने ठाउँ छैन ।

उनी त्यहीँ त्रिपाल टाँगेर टहरा बनाएर बसिन् । राज्यले सुरक्षाकर्मी प्रयोग गरी घर भत्काएर टहरामा पुर्‍यायो । सोमबार मध्यराति आएको हात्तीको बथानले त्रिपालको टहरा भत्काएर खुला आकाशमुनि पुर्‍यायो । सावित्रा तीन महिनाकी सुत्केरी हुन् । त्रिपालको टहरामुनि पुसको सिरेटो र शीतलहरमा नसुती रात काट्दै आएकी उनलाई हात्तीले खुला आकाशमुनि पुर्‍यायो । ‘अन्त कहीँ केही नभएपछि हामी यही टहरामा बस्दै आएका थियौँ । अर्काले दिएको त्रिपाल ओडाएर बनाएको टहरा पनि हात्तीले भत्काइदियो’, उनी भन्छिन्, ‘नानी जन्मिएको तीन महिना भयो । यस्तो जाडो मौसममा शीत तप्पतप्प झर्छ । नानीलाई जोगाउन रातभर नसुती बस्थ्यौँ । अब त आकाशमुनि बास हुने भयो ।’


हात्तीले घर मात्र भत्काइदिएन । उनले तीन महिनाको नानीसँग दु:ख गरेर हातमुख जोड्न ल्याएको १० किलो चामल, नुन, दाल खाइदियो । नखाएको पनि छरपस्ट पारेर कामै नलाग्ने बनाइदियो । ‘अहिले दिनको १२ बज्यो । अहिलेसम्म केही पनि खाएको छैन । पैँचो गर्न जाउँ भने सबैको हालत उस्तै छ’, मंगलबार उनले भनिन्, ‘तिमीहरू अतिक्रमण गरेर आएका हौ भनेर कोही पनि हेर्न आउँदैनन् । वडाध्यक्ष त जस्तै आपत पर्दा पनि आउँदैनन् ।’

कमल–५ नयाँ बस्तीस्थित सशस्त्र प्रहरीको जग्गामा बस्ने सुकुम्बासीलाई अहिले दिनहुँ हात्तीले दु:ख दिइरहेको छ । दश महिनाअघि सशस्त्रले घर भत्काएर उनीहरूको सबै सामान पनि उसैले लग्यो । अन्त कहीँ केही नभएपछि अहिले ३४ घर परिवार त्यहीँ बाँसको भाटाको टेको लगाएर टहरा बनाएर बसेका छन् । ‘ हामीलाई १७ वर्षअघि सशस्त्रले नै यहाँ ठेक्का तिरेर गरिखानु, तिमीहरूलाई पनि हुन्छ । हामीलाई पनि सुरक्षा हुन्छ भनेर यहाँ ल्याए’, वृद्धा पवित्रा बेघा भन्छिन्, ‘अहिले यो हालतमा ल्याए । हात्ती आएर रातभर सुत्न सकिँदैन । भएको विजुली पनि सशस्त्रले काटिदियो । अन्धकार रातमा भाग्न पनि गाह्रो छ ।’

रातभरको त्रिपालबाट शीत चुहिएर सुत्न नै मुस्किल परेका सुकुम्बासीलाई हात्तीले सँधै आपतमा पार्ने गरेको छ । सोमबार राति आएका तीन हात्तीले टहरा मात्र भत्काइदिएनन्, एकछाक टार्नका लागि राखेको अन्न पनि खाइदियो । ‘घरमा दुइवटा स–साना नानीहरू छन् । ७५ वर्ष कट्नुभएका बुवाआमा हुनुहुन्छ । त्रिपालबाट शीत चुहिएर रातभर सुत्न सकिँदैन’, चन्द्रप्रसाद चम्लागाईं भन्छन्, ‘हाम्रो अन्त कतै भएको भए यस्तो हालतमा किन बस्थ्यौँ ? राज्यले बुझ्नु पर्दैन ? हाम्रा लागि राज्य कहाँ छ ?’

सशस्त्र प्रहरीको छेउमै छन्, नयाँ बस्तीका सुकुम्बासी । उनीहरू रातभर चिच्याउँदा पनि सुरक्षाका लागि आएनन्, सुरक्षाकर्मी । बरू नयाँ बस्ती छेउबाटै अर्को गाउँमा सुरक्षा दिन गए । ‘रातभर टुकुरेमा गएर सशस्त्र बस्यो । हामीले रातभरि चिच्यायौँ तर यहाँ आएन । अस्ति एक जनाको ज्यान नै लियो हात्तीले तर, सशस्त्र कानमा तेल हालेर बस्छ’, चन्द्रबहादुर लिम्बू भन्छन्, ‘बिहानै सशस्त्र कुद्दै आउँछन् । मंगलबार आएका सशस्त्रले त केही दिनमा छाड्नुपर्छ भनेर धम्की पनि दिएका छन् ।’

नयाँबस्ती बाहेक कमल–५ का अन्य बस्तीमा पनि हात्तीले क्षति पुर्‍यायो । त्यहाँ कमल–५ का वडाध्यक्ष डम्बर निरौला आफैँ निरीक्षणमा पुगे । त्यो फोटो सामाजिक सञ्जालमा पनि हालेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सहयोग मागेर वडाध्यक्ष हात्ती खेदाउन साइरनसहित मध्यराति टुकुरे, गुहेश्वरीलगायत टोलमा आफैँ गए । त्यहाँ साइरन बजाउँदा नयाँ बस्तीमा हात्तीले झन् क्षति गर्‍यो । अरू बस्तीमा आफैँ निरीक्षणमा पुग्ने वडाध्यक्ष नयाँ बस्तीमा उनी कहिल्यै पुग्दैनन् । महामारीमा सुकुम्बासीले खान नपाउँदा पनि कमलका नागरिक नभएको भन्दै वडाध्यक्षले राहत समेत दिएनन् । ‘मेरो श्रीमान रोहित रेग्मी यो ठाउँको सुकुम्बासीकै अगुवा हुनुहुन्थ्यो । उहाँलाई हात्तीले मार्‍यो । रातभर गुहार माग्दा पनि कोही आएन’, निर्मला रेग्मी भन्छिन्, ‘हाम्रो ठाउँमा हात्ती आयो भनेर जानकारी गराउादा वडाध्यक्षले मान्छेले खेदाउनुपर्ने हात्तीले खेदाएछ ठिकै भयो भन्नुहुन्छ ।’

कमल गाउँपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । प्रधानमन्त्रीले कोही पनि नागरिक चिसोले मर्नुनपर्ने उद्घोष गर्दै आएका छन् । तर, उनकै निर्वाचन क्षेत्रमा सुकुम्बासीलाई राज्यले नै त्रिपालमुनि पुर्‍याएको छ । यस्तो दर्दानाक दृश्य हेर्न वडाध्यक्ष निरौला भने कहिल्यै पुग्दैनन्, नयाँ बस्ती । ‘नयाँ बस्तीमा सामान्य त्रिपाल पल्टाइदियो रे ! म अरूतिर गएँ, त्यता गइन’, कमल–५ का वडाध्यक्ष निरौलाले भने, ‘त्यहाँ कसैले पनि धान चामल राख्दैनन् । उनीहरूले अरूतिरै राखेका छन् । त्यसकारण त्यहाँ क्षति भएको छैन ।’
नयाा बस्तीका सुकुम्बासीको त्यहाँ घर नभई टहरा भएकाले राहत नदिने बताए । ‘राहत दिनलाई घर भत्कनुपर्ने प्रावधान छ’, उनी भन्छन्, ‘उनीहरूको घरै छैन के राहत दिनु ?’

हात्तीले सुकुम्बासी मार्‍यो, राहत माग्दा धनिपूर्जा खोजियो
२३ साउन २०७७ राति आएको हात्तीले नयाँबस्तीको टहरासँगै सुकुम्बासी अगुवा रोहित रेग्मीको पनि ज्यान लियो । उनलाई डिभिजन वन कार्यालय झापाको पहलमा कोशी टप्पु वन्यजन्तु आरक्षले किरिया खर्चबापत ५० हजार दियो । तर, त्यहाँभन्दा अरू क्षतिपूर्ति भने दिइएन ।
राहत माग्न जाँदा जग्गा धनी प्रमाणपुर्जा खोजेको श्रीमती निर्मलाले बताइन् । ‘हामी सुकुम्बासीको जग्गा धनी पुर्जा कहाँबाट ल्याउनु ? पाउने क्षतिपूर्ति पनि दिएनन्’, उनले भनिन्, ‘आजकाल त म राति हात्ती आयो भने गाउँलेलाई निधारमा धनीपुर्जा लिएर बस है भन्न थालेको छु ।’
वन क्षेत्र बाहिर हात्तीले मान्छे मारेमा १० लाख पाउने सरकारी नियम छ । तर, प्रहरीले मुजुल्कामा रेग्मी बसोबास भएको क्षेत्रलाई वन क्षेत्रमा लेखिदियो । ‘यो वन क्षेत्र हो भने सशस्त्रले आफ्नो जग्गा किन दाबी गर्नु ?’, उनी भन्छिन्, ‘प्रहरीले नै वन क्षेत्र भनेर मुजुल्का लेख्यो । अब हाम्रो घर भत्काए बापत क्षतिपूर्ति दिन्छ सरकारले ?’

प्रतिकृया दिनुहोस्