News Portal

मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

रातोपोस्ट संवाददाता
४१७ पटक

झापा, २ माघ ।झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित मेची राजमार्गमा दुर्घटना हुँदा बिहीबार साँझ अर्जुनधारा ७ का दुई व्यक्तिको निधन भएको छ । दुर्घटना बिहीबार साँझ ४ बजेर भएको हो । बुद्धशान्तिको बर्ने चिया बगान क्षेत्रमा इलामबाट झापा झर्दै गरेको मे. ७ प ९४६२ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा ७ का २१ वर्षीय कमल चौधरी र २० वर्षीय हेमा महतको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथीसँग इलामका कन्याम घुमेर फर्कने क्रममा इलाका प्रहरी कार्यालय बुधबारेबाट २ किलोमिटर उत्तरमा उनीहरु सवार मोटरसाइकल टाटा सुमोसँग घुमाउरो बाटोमा दुर्घटना भएको थियो । इलामबाटै झापा झर्दै गरेको मे. १ ज २०९३ नम्बरको सुमोले घुमाउरो बाटोमा मोड्ने क्रममा पछाडिबाट आइरहेको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि झापाको बिएन्डसी हस्पिटल ल्याइएको थियो तर ल्याउनसाथ कमललाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । पछाडि सवार हेमा महतलाई घाइते अवस्थामा उद्दार गरी उपचारका लागि बिएन्डसीमै ल्याइएको थियो । टाउको, अनुहार र खुट्टामा चोट लागेकाले उपचार गराउँदा गराउँदै बेलुका ६ः२५ हेमाको पनि निधन भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा ७ स्थित मिलडाँडा दक्षिण निवासी दुवै जनाको निधनले सिंगो गाउँ नै शोकमग्न बनेको छ । कमल परिवारका एक्लो छोरा तथा हेमा परिवारकी कान्छी छोरी थिइन् । मृतक दुवैको पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको टाटा सुमोका चालक बुद्धशान्ति ७ का सञ्जय गदाल तत्काल फरार रहेकाले खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । गाडीधनी बुद्धशान्ति ७ का डिल्लीमान राई इप्रका बुधबारेको नियन्त्रणमा लिएकाे छ ।

प्रतिकृया दिनुहोस्