News Portal

ट्राफिक प्रहरीले सडकमा दुर्घटना न्यूनीकरण गर्न सक्रियता बढायाे

बिनोद सापकोटा
३९९ पटक

झिलझिले, माघ ३ । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतनामुलक कार्यक्रमअघि सारेको छ। केही दिनयता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए। उनले भने, ‘अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो। अब भने वैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो।’

जिल्लाभित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरूलाई सचेतना, साइकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कारबाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए।

बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अध्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायब निरीक्षक शिवकुमार शर्माले बताए। पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने बसको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याइ छ।

झापामा पुसमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए। दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो। यो अन्य महिनाको भन्दा धेरै हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भीर प्रकृतिको अंगभंग भए भने ७८ जना घाइते भए।

एक महिनामा यतिको संख्यामा सवारी दुर्घटना हुँदा प्रहरीले एउटै कारण ठानेको छ- मादक पदार्थ सेवन गरी सवारी चलाएको। ९७ वटा दुर्घटना झापामा हुँदा शिवसताक्षी नगरमा मात्रै १० वटा दुर्घटना भए । १० वटा दुर्घटना हुँदा ५ जनाको ज्यान गयो । स्थानीय भन्छन्, ‘ट्राफिक प्रहरीले सवारी दुर्घटना सम्बन्धी चेतनामुलक काम गरिरहँदा पनि दुर्घटनाको संख्या भने घटेको छैन।’

एक महिनाको अवधिमा ट्राफिक प्रहरीले ५ हजार ८५ जना सवारीका चालकलाई कारबाही गर्‍यो। नियम संगत सवारी नचलाएको कारण उनीहरू प्रहरीको कारबाहीमा परेका हुन्। यो अवधिमा झापा ट्राफिकले ३६ लाख रुपैयाँ त राजश्व संकलन गर्‍यो। संकलित राजश्वमध्ये ट्राफिक प्रहरी पोष्ट झिलझिलेले मात्र ५ लाख ९७ हजार संकलन गरेको हो।

प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठको नेतृत्वको टिमले जिल्लामै सबैभन्दा धेरै राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उक्त पोष्टले मात्र ९ सय ५० सवारीका चालकलाई कारबाही गरेको छ। चालकलाई कारबाही गरेपछि राजश्व संकलन पनि बढेको हो। साउनयता झापा ट्राफिकले मात्र लकडाउनका बेला पनि एक करोड राजश्व संकलन गरेको छ।

इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी पोष्ट झिलझिलेले संयुक्त रुपमा मंगलबार स्टिकर नभएका यातायातका साधनलाई रिफ्लेक्सन स्टिकर टाँसिदियो। झापामा पहिलो पटक झिलझिले ट्राफिक प्रहरी पोष्टले यो अभियान सुरू गरेको हो।

प्रतिकृया दिनुहोस्