News Portal

भ्यु टावर : अर्थहीन संरचना

सन्दिप ओली
१९७३ पटक

झापा, ५ माघ । काकरभिट्टामा एघार तले भ्यु टावरको शिलान्यास भयो । साढे चार करोड रुपैयाँ खर्च गरेर बनाइने भ्यु टावरले नगरबासीको जीवनमा कसरी सकारात्मक प्रभाव पार्छ ? यो प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग छैन । तथापि यो अग्लो सिमेन्टको धुरी धेरैका लागि ‘सेल्फि जोन’ बन्ने चाहि“ निश्चित छ ।

भ्यु टावर वनेपछि मुठ्ठीभर ठालु नेतालाई ‘विकास यही हो’ भनेर चोर औंलाले देखाउने एउटा सहज वस्तु पनि प्राप्त हुनेछ । टावर वनिसकेपछि टावरकै अघिल्तिर कुनै नेताले आफ्नो पूर्ण कदको फोटो सजाएमा अचम्म नमाने हुन्छ । दुई चार दिनलाई त्यो प्रहसन हेरेर फेरि एकपटक नगरबासी हाँस्न पाउनेछन् । समय कमेडीको छ ।

यस किसिमका गगनभेदी पक्की संरचनालाई ‘पितृसत्ताको दम्भको प्रतिक’ पनि मानिन्छ । अमेरिकाको माउन्ट एलिसन युनिभर्सिटिकी प्राध्यापक लेज्ली कर्न आफ्नो पुस्तक ‘फेमिनिस्ट सिटि’ मा भन्छिन्, ‘सडकका नामदेखि प्रत्येक मुर्तिका नामसम्म पुरुषका हुन्छन् । भौतिकदेखि आलङ्कारिक सबै किसिमका संरचनाहरु पुरुष सत्ताबाट निःसृत भएको भान हुन्छ !’

काकरभिट्टामा बन्न लागेको यो ‘अवलोकन मिनार’ पनि पितृसत्ताको यस्तै दम्भी संरचना हो भन्ने लाग्छ मलाई । पुरुष शासकलाई फुईँ लगाउने औजार हो । यसबारे गम्भिर सैद्धान्तिक विमर्श गर्न सकिन्छ । अहिलेलाई यो लेखको आशय भने उक्त ‘अवलोकन मिनार’को उपादेयता, प्रयोजन, आवश्यक्ता र प्राथमिकताको चर्चा गर्नु हो ।

सबैभन्दा अहम प्रश्न के भने, काकरभिट्टाको लागि यस्ता टावर बनाउनु भन्दा अगावै गर्नुपर्ने कामहरु छैनन् जसलाई प्राथमिकता दिन सकियोस् ? के यहाँ आधारभूत आवश्यकताहरु सबै पूरा भइसकेका हुन् ताकि पैसा उभारेर यस्ता फुर्माइस् गर्न हामीलाई छुट होस् ?

यहाँको स्वास्थ सेवाको अवस्थाको बारेमा चर्चा गरौं । स्वास्थ्य क्षेत्र भन्नासाथ अचेल प्रत्येक नगरबासीले आफैले मत दिएर बनाएका नगर प्रमुख विमल आचार्यलाई सम्झन्छन् । कोरोनाले गाँजेर उहाँ लामो समय अस्वस्थ रहँदा नगरमा उपचार सम्भव भएन । झापा जिल्लामा पनि भएन । अनि उहाँ बिराटनगरको एक महँगो निजी अस्पतालमा भर्ना हुनुभयो । त्यहाँ पनि ठीक ढंगले उपचार हुन नसकेपछि उहाँ आँफै अग्रसर भएर भारत पश्चिम बंगालको सिलिगुडी गएर उपचार गराउन बाध्य हुनुभयो । नगर प्रमुख आँफैले भोगेको त्यो अप्ठ्यारोलाई केही महिनामा चटक्कै भुल्न नेताहरुले सक्लान् तर मतदाताले कदापि सक्दैनन् । त्यसो भए चार करोड बढी रकम खर्च गरेर थाल्नुपर्ने काम के रहेछ त ? पक्कै भन्नु नपर्ला ।

काँकरभिट्टा लगायत यस वरपरका गाँउहरु बाहुन्डाँगी, ज्यामिरगढी, सतिघट्टा, भृकुटी आदिको स्वास्थ्य सेवाको अवस्था अत्यन्त निराशाजनक रहेको सत्य हाम्रा सामु छ । नगरभित्रका सहरी क्षेत्रका अवस्था पनि कम चिन्ताजनक छैन । सामान्य बिरामी हुँदा बिर्तामोडका नाफाखोर र भर पर्न नसकिने अस्पताल धाउनुपर्ने बाध्यतामा छौं हामी । स्वास्थ्य संकट अझै बढे धरान, काठमान्डु, सिलिगुडी वा दिल्ली जानुपर्ने हुन्छ । त्यस्ता बिरामी र तिनका परिवारको चरम आर्थिक दोहन हुने गरेको खबर पटकपटक सुनिरहेका छौं । त्यसो भए, हाम्रा लागि एउटा गतिलो अस्पताल प्राथमिकता हो कि भ्यु टावर?

यहाँका सामुदायिक बिद्यालयहरुको अवस्था सम्झौं । केही रकम खर्च गरेर एउटा मात्रै भएपनि सामुदायिक बिद्यालयको स्तरोन्नति गर्न सकिने सम्भावना पहिल्याउन हाम्रा जनप्रतिनिधिहरुले किन चाहेनन् ? यति गर्न नसके, नगरमा एउटा गतिलो पुस्तकालय त निर्माण गर्न सकिन्थ्यो होला । तर ज्ञान आर्जन हुने र नागरिक चेतनामा बृद्धि हुने क्षेत्रहरु कहिले पनि प्राथमिकतामा राखिदैनन् । भएका पुस्तकालय र अन्य यस्ता संस्था स्थानीय सरकारको समेत बेवास्तामा चाउरिएको तथ्यमा कसैको ध्यान पुग्दैन ।

आज भन्दा तीन दशक पहिलेको काँकरभिट्टालाई फर्किएर हेरौ त । त्यस बखत पिउने पानीको हाहाकार थियो । अहिलेको मिनि मार्केट र नेपाल बैंक अगाडिका इनारमा सधै भिड हुन्थ्यो । भारमा बोकेर संकलन गरिएको पानीले गुजारा चलाउनुपथ्र्यो । भार बोक्ने धेरै मजदुर थिए । कतिपयले काली खोलाको भरमा जीवन धानेका थिए । धेरै वर्षको कहरपछि पानीको समस्या हल भएको छ । तर, अहिले फेरि पानीको उपलब्धता घट्न थालेको छ । जमिनमा पानी रिचार्ज हुन छोडेको प्रति विज्ञहरुको चिन्ता छ । प्राथमिकता पानीको पुनर्भरण थियो, पोखरी थियो, जमिनमा पानी रिचार्ज गर्ने अभियान हामीले तत्काल सुरु गर्नुपर्ने काम थियो । ती सबै काममा स्वयं खानेपानी संस्था र नगरको पनि पर्याप्त ध्यान गएको छैन । अबको केही वर्षमा पानीको संकट सुरु हुने निश्चित छ । बेवास्ता बढ्दै गए फेरि भारमा बोक्ने दिन आउने पक्का छ ।

हामी उल्टो बाटो हिंड्दैछौं । जमिनमुनिको पानी सिध्याउने अर्थहीन संरचना बनाउन थाल्दैछौं । प्राकृतिक श्रोत र साधनको चरम दोहन, पर्यावरणीय जोखिमहरु मुल्यांकन नगरी बनाइएका कंक्रिटका उपयोगहीन संरचनाले कुनै पनि कोणबाट हामीलाई फाईदा गर्दैन । त्यसो त अग्ला टावरहरु भूकम्पीय जोखिम भएका ठाउँमा नबनाउनु नै सधैं हितकर हुन्छ ।

अर्को तथ्य बताउन भुल्न हुँदैन । जुन स्थानमा भ्यु टावर निर्माण गरिने भनिएको छ त्यो स्थान काँकरभिट्टाको सबै भन्दा अग्लो ठाँउ हो । अर्थात त्यो स्थान एक सुन्दर, बनिबनाउ प्राकृतिक ‘भ्यु टावर’ हो । बनिबनाउ प्राकृतिक भ्यु टावरलाइ केही स्तरोन्नति गरेर थप सुन्दर बनाउन ठुलो रकमको आबश्यकता पर्दैन । तर, यसो गर्नुको सट्टा प्राथमिकतामा नपर्ने भद्दा संरचना निर्माण गरेर त्यो सुन्दर स्थललाई कुरुप बनाउन लागि पर्नुले एउटै सत्यको पुष्टि गर्छ – हाम्रा जनप्रतिनिधिहरु बिकासको बुझाई असाध्यै अपुरो र समस्याग्रस्त छ । साथै, उहाँहरुसँग सौन्दर्यको आधारभूत चेतना पनि छैन ।

यो बिडम्बना हो कि हाम्रा प्रतिनिधिहरुसँग पदमा पुग्न चाहिने साधन र श्रोत त थियो तर पदमा पुगेपछि के गर्ने भन्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना थिएन । गर्व गर्न लायक काम गर्ने ईच्छाशक्ति र पार्टी निर्देशन पनि केही थिएन । दिगो महत्वको ठोस काम गर्न असफल भएपछि यस्ता नचाहिने ठुला र भद्दा संरचनाको निर्माण गरेर नगरबासीलाई भ्रममा राख्ने प्रपञ्च रचियो । देशभरि अरुले जे काम पटकपटक दोहो¥याएर अर्थहीन साबित भएका छन्, त्यही काम यहाँ पनि सुरु गरियो । कल्पनाशीलता, सृजनात्मकता, प्राथमिकता चयन गर्न क्षमताको कमी र इमान्दारीको अति न्यूनताले निम्त्याउने दशा हो यो ‘भ्यु टावर’ ।

काँकरभिट्टा एक ‘ट्रान्जिट प्वाइन्ट’ हो । मुलुकका बिभिन्न स्थानमा जाने र भारत तर्फ जाने यात्रुहरु केहि क्षण टहलाउन यो टावरमा पुग्लान् । स्थानीय पनि रमाइलो गर्न त्यहाँ पुग्लान् । तर त्यसका लागि टावर नै किन चाहियो ? एकछिन शान्त मनले सुस्ताउन, केटाकेटीले आनन्दले खेल्न, युवाहरुलाई रमाईलो गर्न, शितल ताप्न र गफ गर्न, टावर भन्दा गतिलो अरु केही बनाउन सकिँदैन थियो ? हाम्रो स्थानीय विविधता समेत झल्कने गरिको सुन्दर संग्रहालयसहितको बगैँचा टावरभन्दा राम्रो विकल्प हुँदैनथ्यो ? जमिनलाई हानी नहुने, भुकम्प आउँदा समेत डराएर भाग्नु नपर्ने, वृद्ध अवस्थाका मान्छेले पनि बिना संकोच आनन्दले बस्न पाउने कुनै सुन्दर उद्यान बनाउँदा, टावरभन्दा कमसल हुन्थ्यो ? अनि त्यो भ्यु टावरबाट जे देखिने हो, ति सबै दृष्यहरु त मन्दिर डाँडाबाट अहिले नै राम्रोसँग देखिन्छ त !

अत्यन्त न्युन उपादेयता रहेको यो भ्यु टावरको निर्माण गर्न जनप्रतिनिधिहरु अग्रसर हुनुले केही गम्भिर प्रश्नहरु उब्जाएका छन । हाम्रै छिमेकी नगर दमकमा निर्माणाधिन भ्यु टावर सम्झौं । सुकुम्बासी बस्तिको बिचमा ठड्याइएको उक्त भ्यु टावरको निर्माण शुरु भएदेखि नै त्या भुमाफियाहरुको ताहुरमाहुर बढेको स्थानिय सुकुम्बासीहरु सुनाउँछन् । आफ्नो थातथलो नै उठाएर घरबार बिहिन पो बनाइने हो कि भनेर टुकुरे सुकुम्बासी बस्तिका बासिन्दाहरु त्रसित छन् । त्यस आधारमा सहजै अन्दाज गर्न सकिन्छ, काँकरभिट्टाको भ्यु टावरले केही थान भुमाफिया र निर्माणसँग जोडिने आर्थिक चलखेलमा सहभागि हुन पाउनेका लागि मात्रै हो ।

नगरबासी आम नागरिकलाई कुनै पनि लाभ नहुने, बरु बेफाईदा बढी हुने यस्ता निर्माणबारे सबैले एक स्वरले प्रश्न उठाऔं । पहिल्यै सुन्दर स्थलको सौन्दर्यलाई बिटुलो पार्ने यस्ता नकामलाई रोक्ने प्रयत्न नहुँदा यस्ता अर्थहीन संरचना थपिंदै जाने सम्भावना छ । आँफैले तिरेको तिरोको यो हदको दुरुपयोग र यस्तो दुखदायी ठट्टा टुलुटुलु हेरेर बस्न सकिन्छ ? लेखक : रिडर्स झापाका सदस्य हुन् ।

प्रतिकृया दिनुहोस्