News Portal

  • शिवसताक्षी फुटबल क्लब फाईनलमा

    रातोपोस्ट संवाददाता
    ३३० पटक

    मेचीनगर, माघ ६ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमीफाईनल खेलमा शिवसताक्षी धाम फुटबल क्लब विजयी भएको छ । शिवसताक्षीले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ ।

    अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा शिवसताक्षी धाम फुटबल क्लबका रेजिन माझीले खेलको पहिलो हापको १९ औं मिनेटमा गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । शिवसताक्षीका प्रविन राइृले २१औं मिनेटमा गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । पहिलो हापको २२ औ मिनेटमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल दर्जीले गोल गर्दै टिमलाई लयमा फर्काए । विशाद दर्जीले पहिलो हापको ३६औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

    प्रतियोगिताको दोस्रो हापमा दुवै टिमले आक्रमक खेल खेलेका थिए । तर १२औ मिनेटमा शिवसताक्षी क्लबका रोहन कार्कीले एक गोल गर्दै टिमलाई फेरी अग्रता दिलाए । ३९औ मिनेटमा विजेता टिमको तर्फबाट प्रविन राईले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित पक्का गरे । मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा उत्कृष्ट खेल्दै एक गोल गर्न सफल विजयी टिम शिवसताक्षी धाम फुटबल क्लबका रोहन कार्की म्यान अफ दि म्याच घोषित भए । उनलाई नेपाल धुवानी सेवा समितिका केन्द्रिय सदस्य श्याम प्रसाईले एक हजार पाँच सय नगद सहित ट्रफि प्रदान गरे ।

    भोलिको अन्तिम सेमीफाईनल खेल गार्डेन फुटबल क्लब धरान र डुडाबारी फुटबल क्लब बिच दिनको २ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले जानकारी दिए । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

    प्रतिकृया दिनुहोस्