News Portal

डुडाबारी फुटबल क्लब बन्यो च्याम्पियन

रातोपोस्ट संवाददाता
१०२० पटक

मेचीनगर, माघ ९ । मेचीनगरको काँकरभिट्टामा माघ १ गतेदेखि जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डुडाबारी फुटबल क्लबले जितेको छ । प्रतियोगिताको आज भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबले शिवसताक्षी धाम फुटबल क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाईनल खेलमा डुडाबारी फुटबल क्लबका प्रितम लिम्बुले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसलाई बराबरी बनाउने क्रममा शिवसताक्षी धाम फुटबल क्लबका रेजिन मेचेले १ गोल गरे । निर्धारित समयसम्ममा दुवै टिमबाट समान १/१ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा  भएको प्रतियोगितामा उत्कृष्ट खेल्दै गोल गर्न सफल विजयी टिम डुडाबारी फुटबल क्लबका प्रितम लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा म्यान अफ दि सिरिज शिवसताक्षी धाम फुटबल क्लबका सञ्जीव राई घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरे । बेष्ट गोल रक्षक डुडाबारी फुटबल क्लबका सन्दिप लिम्बुले हात पार्दै नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे ।

वेष्ट डिफेण्डर शिवसताक्षी धाम फुटबल क्लबका टेकेन मगर र वेष्ट मिडफिल्डर शिवसताक्षीका रोहन कार्की घोषित भए । उनिहरुले समान २ हजार ५ सय सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, विशिष्ठ अतिथि काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ, अतिथि नेपाल दुवानी व्यवसायी महासंघ केन्द्रिय सदस्य श्याम प्रसाई (एसपी), स्व.अर्जुन तामाङका पिता ईन्द्रबहादुर तामाङलगायतले विजेता टिमलाई नगद ५० हजार नगदसहित ट्रफि र उपविजेता टिमलाई २५ हजार नगदसहित ट्रफि प्रदान गरेका थिए ।

तुर्केनी फुटबल क्लवका अध्यक्ष रामकुमार लिम्बुको सभापतित्वमा सम्पन्न फाईनल खेलको औपचारिक कार्यक्रममा उपाध्यक्ष दिलकुमार लिम्बूले स्वागत तथा कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार डिल्लिराम अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्