News Portal

पत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छ : अध्यक्ष आचार्य

रातोपोस्ट संवाददाता
४८९ पटक

इलाम, ११ माघ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताएका छन् । पत्रकार महासङ्घ इलाम शाखाको १६औँ साधारणसभाको आज उद्घाटन सत्रमा अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, दोस्रो नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहितको लागि लड्ने विषय रहेको बताए । उनले लडेर ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफैं लाग्नुपर्ने बताए ।

महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अझै पनि पत्रकारले श्रम अनुसारको ज्याला नपाउने गरेको बताए । महासङ्घका अर्का उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने गरेको अवगत गराए । उनले विसं २०६२/६३ को जनआन्दोलनमा पनि प्रेसको सहयोग नभएको भए लोकतन्त्र ल्याउन सहज नभएको जिकिर गरे ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेश बस्नेतले आवाज विहिनको आवाज बाहिर ल्याउन प्रेस सधैँ जागी रहने विश्वास व्यक्त गरे । पत्रकार महासङ्घ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधैँ विधिको शासनको पक्षमा गरिनुपर्नेमा जोड दिए । कोरोनापछि प्रेस पनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताए ।

प्रतिकृया दिनुहोस्