News Portal

  • ‘फलहारी बा’ को पुस्तकालय प्रेम

    रातोपोस्ट संवाददाता
    ३८५ पटक

    अध्याय १

    खानाको वदला फलफूल मात्रै खाएर कति दिन विताउन सकिएला ? एक, दुई या हप्ता दिन । धेरै दिन त पक्कै टिक्न गाह्रो छ । तर, झापा तीस वर्षदेखि फलफूलकै भरमा वाचेका मान्छे पनि छन् । ती हुन् प्रेम प्रकाश पोख्रेल । यिनले फलफूल मात्रै खाएको ३० वर्ष नाघ्यो । झापा धुलावारीका यी ६३ वर्षीयले २०४१ सालदेखि अन्नको खान छाडे । अन्नको स्वाद कस्तो हुन्छ त्यो पनि विर्सिसके । फलाहार मात्रै खाने भएकाले यिनलाई सवैले ‘फलाहारी बा’ भन्छन् । ‘शुरुमा अभ्यास थिएन अन्न छाड्न गाह्रो भयो’, यी पाकाले थपे,‘अन्न विना वर्ष बटाउन वडो गाह्रो यो । तर, अव त वानी परिसके । अन्न त हेर्न पनि मन लाग्दैन ।’

    खासमा यी वाजे तिनताका धुम्रपानका खुंखार अमली थिए । धुम्रपानको दलदलमा भासिएका थिए । धेरैपटक छाड्ने प्रयत्न गरे । तर, सके पो † दुई वट्टा याक चुरोट सक्न उनलाई एक दिन पनि लाग्दैन थियो । अत्याधिक धुम्रपानको चपेटामा परेका यिनलाई दम, खोकी र पेटको अल्सरले गाँज्यो । मृत्युको मुखमा पुगेर बाँचे । त्यसपछि यिनले सोचेछन्,‘जीवनमा धेरै गर्नुछ, कम्तिमा मर्दा पनि केही कीर्ति राखेर त मरौ ।’
    जिन्दगी लामो छ । धुम्रपानका कारण असामयिक जीवन समाप्त गर्नु भन्दा चटक्कै छाड्न वेस भन्ने सोचे । धुम्रपान चटक्कै छाडे । पछि ‘धुम्रपानले लिन्छ ज्यान’ भन्दै चेतनामुलक नारा वोकेर देशव्यापी पैदल यात्रा गरे । ‘परिवर्तन आफैवाट शुरु गरौ भनेर अभियानमा निस्किएँ’, यिनी सम्झिन्छन्,‘यात्रा फलदायी र सफल भयो ।’

    आफू पनि धुम्रपान छाड्न र अरुलाई पनि छाड्न प्रेरित गर्न पैदल यात्रा गरेका उनले यात्राकै क्रममा धुम्रपान त त्यागे नै, अन्न र जुत्ता चप्पल पनि छाडे । अन्न र जुत्ता चप्पल छाड्ने उनको मनसाय थिएन । तर, नियतिले छोडायो । ‘यात्राका क्रममा भनेका वेला खाना खान नपाइने, हप्तौ भोकै हिड्नु पर्ने वाध्यता थियो’, अन्न छाड्नुको रहस्य खोले,‘भात नखादा पनि मान्छे वाँच्ने रहेछ जस्तो लाग्यो, अभ्यास गर्दै गएं अन्त्यमा सक्षम वने ।’

    यिनले जुत्ता चप्पल छाड्नुको रहस्य भने रोचक छ । यात्राका क्रममा उदयपुरको त्रियुगा नदी तर्दै थिए । ठूलो भेलका वीच नदी पार गर्ने क्रममा यिनको जुत्ता बग्यो । नदी पार गरेपछि लामो समयसम्म जुत्ता वगेको हेरे । त्यसपछि जुत्ता चप्पल पनि नलाउने प्रतिज्ञा गरे । ‘जुत्ता, चप्पल नलाउने प्राणी पनि पृथ्वीमा बाँचेकै छन् भन्ने लाग्यो’, यिनले सुनाए,‘त्यसपछि अहिलेसम्म जुत्ता चप्पल लगाएकै छैन ।
    जुत्ता चप्पल नलगाउदा यिनलाई दुइटा फाइदा भयो । पहिलो खर्च घट्यो । दोस्रो आयु वढ्यो । खाली खुट्टा हिड्नु स्वास्थ्यका नजरमा पनि फाइदाजनक छ भन्छन् यिनी । धुम्रपान, अन्न र जुत्ता चप्पल चटक्क छाडेपछि यिनलाई आफ्नो आयु वढेको आभाष भएको छ । ‘पुरानै जीवन शैलीमा हिडेको भए अहिलेसम्म म रहने थिइनँ सायद’, यिनी अनुमान लगाउछन् ।

    अन्न र जुत्ता चप्पल छाडेपछि यिनले गेरुवा रुप धारण गरे । झ्याप्प दारी पाले । धेरैले प्रेमप्रकाश ‘बौलायो’ पनि भने । तर, यिनले आफ्नो अडान छाडेनन् । आफूप्रति नकारात्मक धारणा राख्ने समाजलाई यिनले दुत्कारे । भन्नेहरु भन्दै गर्छन भन्दै निरन्तर अभियानमा लागे । आज यिनी सवैको प्रेरक वनेका छन् ।

    २०४५ सालमा थर पनि कटनी गरे । र, फलहारी वनाए । उनी जातले उपाध्याय व्राम्हण थिए । तर, सधै जातपातको वर्खिलापमा उत्रिए । सानो र ठूलो जातप्रति यिनको खास रुचि छैन । सवै वरावर हुन भन्ने ठान्छन् । ‘मान्छेको जात दुईटा मात्रै हुन्छ महिला र पुरुष’, गर्वका साथ भन्छन्,‘जातले चिनिनु भन्दा पनि कर्मले चिनिनु मुख्य कुरा हो ।’

    अध्याय दुई:
    भनिन्छ, सिंगो संसार स्वार्थको भूमरीमा चुर्लुम्म डुवेको छ । आफ्ना लागि गर्नेहरु भेट्न गाह्रो पर्दैन । तर, अरुका लागि गर्ने मान्छे भेट्न सिलो खोज्नुपर्ने हुनसक्छ । तर, ‘फलाहारी बा’ ले आफ्नो जीवनको आधा भन्दा वढी समय ‘अरुका लागि’ व्यतित गरेका छन् ।
    कुनै समयका चुरोटका खुंखार अम्मली अहिले झापामा पुस्तकालय संचालन गरेर वसेका छन् । धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालय जन्माउनदेखि हुर्काउने काममा फलाहारीको भूमिका अतुलनीय छ । पुस्तकालय नै यिनको घर हो । २०५२ सालताका यिनले झापामा साहित्यकार, पत्रकार, विद्यार्थी र पढैया वर्गलाई केन्द्रीत गरेर सानो पुस्तकालय निर्माण गर्ने सोच राखेका थिए । तर, अनेक कारणले पुरा हुन पाएन ।

    धुलावारी माविका तत्कालीन हेडमाष्टर मोहनकुमार खड्कालगायतका स्थानीय भद्रभलाद्मीहरुले समेत पुस्तकालय स्थापनाले समाज गतिवान वन्ने सल्लाह दिएपछि फलाहारीलाई ‘के खोज्छस् कानो आँखो’ जस्तै भयो । ‘भद्रभलाद्मीको सहयोग र सल्लाहले पुस्तकालय संचालन गर्न हौसला मिल्यो ’, फलाहारी सम्झन्छन्, ‘त्यसपछि आउँदो वर्षदेखि संचालनमा ल्याएँ ।’

    फलाहारीले २०५३ सालको नयाँ वर्षको मेसोमा पुस्तकालय संचालनमा ल्याए । धुलावारीको सारदा शिशु सदन स्कुलको खेल मैदानमा आयोजित एउटा सानो कार्यक्रममा शिक्षाविद् दाताराम शर्माको वाहुलीवाट पुरस्तकालयको घुम्टो उघारे । टेवलमा ३ सय ३३ वटा पुस्तक राखेर पुस्तकालय शुरु गरे । ‘त्यो वेला पुस्तक पाउन पनि गाह्रो थियो ’, पुस्तक वटुल्दै विभिन्न जिल्ला पुगेका फलाहारी भन्छन् ,‘पढ्ने मान्छे पाउनै गाह्रो थियो ।’

    पुस्तकालयमा अहिले विभिन्न विधाका करिव चालिस हजार पुस्तक संग्रहित छन् । धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, साहित्यिकलगायतका धेरै पुराना र वहुउपयोगी पुस्तकहरु यिनको पुस्तकालयमा फेला पार्न सकिन्छ । यसको संकलनका क्रममा फलाहारीले निक्कै धेरै संघर्ष गर्नु परेको थियो । हरेक कार्यक्रममा फलाहारी भन्ने गर्छन् ,‘यी सवै पुस्तकहरु तपाई हाम्रै लागि हो । वडो दुखका साथ जम्मा गरेर राखेको छु कम्तिमा अध्ययन गरेर सहयोग गर्दिनोस् ।’

    फलाहारी पुस्तक अध्ययनको वानी गराउनका लागि पुस्तकालय गतिलो माध्यम वन्ने बताउँछन् । झापामा भएका पुस्तकालयहरु धमाधम वन्द हुने क्रम वढिरहेका वेला फलाहारी पुस्तकालयको संरक्षणमा अहोरात्र खट्ने सिपाही हुन् । ‘सभ्य र शिक्षित समाजको निर्माणमा पुस्तकको महत्व रहन्छ ’, थप्छन्,‘ सभ्य समाज निर्माण र समाजलाई गतिशिल वनाउन पुस्तक चाहिन्छ ।’

    त्रिफला पुस्तकालयसंग अहिले करिव पाँच करोड चानचुनको चलअसल सम्पत्ति छ । जमीन मात्रै करिव एक करोड हाराहारी पर्छ । तीन तले भवन निर्माणमा करिव दुइ करोड खर्च भएको छ । यत्रो भव्य पुस्तकालय मुलुकमा अन्य कतै नभएको फलाहारीको दावी छ । पुस्तकालयलाई चाँडै थप व्यवस्थित गर्दैछन् । खोजेको पुस्तक झट्ट भेटिने गरी आधुनिक प्रविधि प्रयोग गर्ने योजना छ । यसका लागि यिनले सरकारसंग सहयोग मागेका छन् । ‘सहयोग आउने वित्तिकै पुस्तकालय थप व्यवस्थित हुन्छ’, यिनले विट मारे,‘पाठकहरुलाई अध्यययनमा सहज होस भन्ने ध्येय छ ।’

    प्रतिकृया दिनुहोस्