News Portal

  • अस्पताल नभएको सहरमा ११ तले भ्यु टावर

    रातोपोस्ट संवाददाता
    २८२ पटक

    काकडभिट्टा – मुलुकको यो पूर्वी नाका, सीमान्त सहर वर्षौदेखि अस्पतालविहीन छ । अस्पताल नहुँदा सर्वसाधारण उपचारका लागि मेची परेर भारत जान्छन् । कतिपय छिमेकी विर्तामोड नगरपालिकाको महंगो अस्पतालमा उपचार गर्न वाध्य छन् ।

    सहर वन्न विभिन्न अवयव चाहिन्छ । कालोपत्रे सडक, गगनचुम्वी महल, तारे होटलहरु या क्यासिनो । यतिले मात्रै कहाँ वन्ला सहर ? सहरको परिभाषामा अव वहुतले भ्यु टावर पनि अनिवार्य वनेको छ । तर, सर्वसुलभ स्वास्थ्य सेवा अर्थात अस्पताल चाहिँ नभए पनि पुग्छ ।
    चोकैपिच्छे जुवाका ठूलठुला खालहरु, डिस्को र वारहरु छन् । तर, छैन अस्पताल । अस्पताल नभएको यो सीमान्त सहरमा थपिदै छ ११ तले भ्यु टावर । करिव साढे ४ करोडको लागतमा वन्ने ३३ मिटर अग्लो भ्यु टावर विहीवार जनप्रतिनिधिहरुको एक टोलीले शिलान्यास गऱ्यो ।

    यो सीमा सहर मेचीनगरका अधिकांश महिला सुत्केरी हुन भारत पुग्थे विगतमा  २०५० को दशकमा या त्यसभन्दा अघि अधिकांश वच्चा नेपालमा हैन, भारतीय अस्पतालमा जन्मिएका छन् । यो क्रम अहिले पनि छ,  सुत्केरीका लागि मात्रै हैन, अरु दुख विराममा पनि भारतको नक्सलवारी सरकारी अस्पतालको भर थियो ।

    समय अहिले फेरियो । सानो सहर, ठूलो वन्यो । तर, समस्या २० वर्ष अघिकै जस्तै छ । सर्वसुलभ स्वास्थ्योपचारको उचित प्रवन्ध अझै छैन । अहिले पनि कि भारतीय अस्पताल, कि त सहरदेखि अलि टाढाको अर्को सहर, विर्तामोड–भद्रपुर धाउनुपर्छ सामान्य उपचारका लागि समेत । ‘विर्तामोड–भद्रपुर भन्दा पारि नै ठीक’ भन्दै धाउनेहरु पनि छन् ।

    यो सहरमा अस्पताल नै नभएको भने हैन । २०५१ मा कन्काई नसिङ होम नामक २५ शैय्याको मझौलो अस्पताल थियो । तर, लगभग ३ वर्ष पछि वन्द भयो । त्यसवेला विरामीको भारततिर धाउने धर क्रमश: घट्दै गएको थियो । अचानक वीचैमा वन्द भएको थियो । वन्द हुनुको मुल कारण डाक्टर अभाव थियो । रोचक कुरा त के भने यो नसिंहोम भारतीय डाक्टरकै भरमा चलेको थियो । भारत तिरका अस्पतालले विरोध गरेपछि डाक्टर आउन छाडे । पछि त नेपाल सरकारले पनि भारतीय डाक्टरलाई प्राक्टिसमा रोक लगायो । असिंहोम वन्द पनि पुन: विरामी पारि तर्न थाले । अस्पतालका संस्थापक कृष्णप्रसाद उप्रेतीका अनुसार पूर्वी पहाडका अधिकांश विरामीलाई त्यो अस्पतालले पारि तर्नवाट रोकेको थियो ।

    उप्रेती भन्छन्,‘महिनामा लाखौ रुपैयाँ उपचारमा वाहिरिन्थ्यो । केही वर्ष त हामीले रोक्यौ तर हाम्रो पनि केही लागेन ।’ उप्रेतीका अनुसार अस्पताल वन्द हुदा त्यो वेला करिव ६० लाख जति घाटा व्यहोर्नु परेको थियो संचालकहरुले ।

    सदरमुकाम भन्द्रपुर टाढा पथ्र्यो । वाटो पनि गतिलो थिएन । विर्तामोडमा त्यो समय अस्पताल नै थिएन । भद्रपुर जानुको साटो नक्सलवारी जानु चै उचित ठान्थे खर्च र समयका हिसावले ।

    अहिले झापाका प्राय: सवै सहरमा अत्याधुनिक अस्पतालहरु छन्् । यद्यपि विरामी भारत जाने क्रम उस्तै छ । स्थानीयवासी उप्रेती भन्छन्,‘सवै भारत जान्छन्, ठगिएर फर्किन्छन् ।’ उनका अनुसार सीमामा व्यवस्थित र सर्वसुलभ अस्पताल हुने हो भने भारत जानु पर्ने अवस्थै हुदैनथ्यो । त्यसो हँुदा लाखौ नेपाली रुपैया भारत जादैनथ्यो । ‘यसप्रति कसैको चासो छैन’, उप्रेतीले गुनासो पोख्छन् ।

    काँकडभिट्टामा जुवाडेका लागि दुई वटा व्यवस्थित मिनी क्यासिनो संचालित छ, करिव ५ वर्ष अघि देखि । ठूलो क्यासिनो सहितको पाँचतारे होटल संचालनमा आइसकेको छ । अन्य तारे होटल खुल्ने क्रम जारी छ । डिस्को, वार र सुविधा सम्पन्न क्लवहरु संचालनको तयारमा छ । तर, विरामीको उपचारका लागि एउटा पनि अस्पताल छैन । ‘अस्पताल वनाउनु पर्ने ठाउमा सरकारले भ्यु टावर वनाइरहेको छ’, स्थानीय इशान बन्जाडे सामाजिक संजालमा लेख्छन्,‘हामीलाई भ्यु टावर हैन, अस्पतालको खाँचो धेरै छ ।’

    अस्पतालविहीन सहरका सर्वसाधारण विरामी हुँदा हैसियत अनुसार उपचार गर्छन् । गरिव र विपन्नहरु सरकारी हेल्थ पोष्टको भर पर्छन् । खान पुग्ने दिन पुग्नेहरु महंगा अस्पताल पनि धाउछन् । ‘हुने खाने काठमाडौ र भारतसम्म पुगेर उपचार गर्न सक्छन्’,स्थानीयवासी अर्जुन राईले भने,‘हुँदा खानेहरु उपचार नपाएरै मर्नुपर्ने अवस्था छ यो सहरमा ।’

    २०६५ सालमा जापान सरकारको करोड वढी ऋण सहयोगमा धुलावारीमा आम्दा–मेची सामुदायिक अस्पताल संचालनमा आयो । केही वर्ष राम्रै चल्यो । वर्ष दिन वितेपछि यो अस्पतालमा पनि समस्या शुरु भयो । डाक्टर वस्नै नमान्ने, भएकाले पनि काम नगर्ने आदि समस्याले अस्पताल आफै थला पऱ्यो । ‘व्यवस्थापकीय कमजोरीकै कारण अस्पतालले गति लिन नसकेको हो’, अस्पताल व्यवस्थापन समितिका सदस्य विजय डालमियाले सुनाए ।

    केही वर्ष अघि पुर्ण रुपमै वन्द वनेको अस्पताल वल्लतल्ल संचालनमा आएको छ । यद्यपि चित्तवुझ्दो स्वास्थ्य सेवा प्रवाह गर्न नसक्दा पुन: वन्द हुने अवस्थामा पुगेको छ । धुलावारीको अस्पतालले थोरवहुत उपचारमा सहयोग गरेकै थियो । धुलावारी स्वास्थ्य केन्द्र पनि छ । त्यसको हविगत पनि उस्तै छ । मेचीनगरमा करिव सय हाराहारीमा मेडिकल हल र क्लिनिकहरु छन् ।
    ‘अस्पताललाई विर्तामोड केन्द्रित गरियो’, धुलावारीका स्थानीय निरोज कट्टेलले भने,‘अस्पतालमा पनि राजनीति घुसेकाले सर्वसाधारणले दुख पाइरहेका छन् ।’ विर्तामोडमा दलैपिच्छे आ–आफ्नै अस्पताल छन् । यो पूर्वी सहर लामो समयदेखि कहिले वन्ला अस्पताल ? भन्दै पर्खाइमा वसेको छ । ‘जनप्रतिनिधिहरुको मोह अस्पतालमा हैन, भ्यु टावर र अनुत्पादक क्षेत्रमा ज्यादा’, मेची नगरका स्थानीय सन्दिप ओली भन्छन्,‘जनताका प्राथमिकताका आधारहरुलाई पन्छाएर भ्यु टावरमा करोडौ लगानी गर्नु दुखद लाग्दो कुरा हो ।’

    प्रतिकृया दिनुहोस्