News Portal

अमेरिकी -भुटानी नर्सकाे कथा

रातोपोस्ट संवाददाता
१४०४ पटक

अमेरिकाको कान्सासमा वस्ने नेपाली नर्स लक्ष्मी विश्व, ३० कोरोना महामारीका समयमा फ्रन्टलाइनमा खट्ने नेपाली नर्स हुन् । त्यसवापत उनले हालै वलिउड अभिनेत्री प्रियंका चोपडावाट ५ हजार डलर नगद पुरस्कार पनि पाइन् । प्रियंकाले महिला सशक्तीकरण सम्बन्धी अभियानको क्रममा कोरोना भाइरसविरुद्ध अमेरिकामा रहेर खट्ने प्रहरी, चिकित्सा आदि पेशामा संलग्न चार प्रेरक महिलाहरु खोजी गरिरहेकी थिइन्, सामाजिक संजाल इन्स्टाग्राममार्फत । प्रियंकाले अग्रभागमा रहेर काम गर्ने महिलाहरुलाई आफ्नो कथा पठाउन भिडियो आह्वान पनि गरेकी थिइन् । त्यही मेसोमा पुरस्कृत लक्ष्मीसंग फेसवुक म्यासेन्जरमा गरिएको कुराकानीमा आधारित अनुभव :

मेरो मुलथलो भूटानको साम्ची जिल्लाको बााडा भन्ने ठाउँमा हो । तर, म जन्मिएकी चा…ही भारत र भुटानको सीमावर्ती सहर फुन्चोलिङ हो । म जन्मेका बेला भुटानवाट नेपालीभाषी लखेटिने क्रम तीव्र थियो रे । त्यो वेला म चार वर्षकी थिएँ, जतिवेला वुवा आमाले मलाई नेपाल ल्याउनु भयो ।
मोरङ शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमै म हुर्किएँ । अरु भुटानी शरणार्थील झैं हाम्रो परिवारले पनि धेरै दु:ख कष्ट सहेर हुर्काउनु भयो । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयोगले शिविरहरुमा स्कुल नै संचालन गरेका थिए । त्यही पढें । एसएलसी पनि त्यहीवाट पास गरो । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा साइन्स पढ्दै थिएँ । त्यहि वेला यूएनएचसीआरले शरणार्थीलाई पुर्नवासका रुपमा अमेरिका, क्यानाडा, अष्टेलिया, नर्वे आदि मुलुक पठाउने खवर सुनियो । शिविरको दु:खले हामीलाई ठूलो देश पुग्ने महत्वाकांक्षा वढाइदियो । अन्तत: सेप्टेम्वर २००८ मा हामी अन्य शरणार्थीझै अमेरिका आइपुग्यौ ।

अमेरिका भन्नु मात्रै थियो । यहाँ पनि दु:ख त लगभग उस्तै थियो । वीचैमा पढाई छाडेर आएकी थिएँ । मलाई पढाई अघि वढाउनु थियो । पढ्दै काम गर्ने निधो गरें । हाल युनिभर्सिटी अफ केन्सास अमेरिकामा मेडिकल साइन्समा स्नातकोत्तर गरिरहेकी छु । संगै अस्पतालमा कोरोना संक्रमितको सेवामा पनि खट्दै आएकी छु । यही क्रममा सन् २०१७ मा आमा वित्नु भयो । आफू ड्युटिमै रहेका कारण प्राण जाने वेलामा आमासंग भेट हुन पाएन । यो मेरो सवैभन्दा दु:खद अनुभव थियो । अहिले वुवा र तीन वर्षीया छोरीसंग वस्छु । घरमा धेरै समय दिन सक्दिन । विरामी वुवा र दुधे वालक छोरीलाई घरमै छाडेर दैनिक १२ घन्टासम्म कोरोना संक्रमितको उपचारमा खट्छु ।
म भुटानमा जन्मिएँ । नेपालमा हुर्किएँ, पढें र अमेरिकामा कर्म गरिरहेकी छु । मेरो यही संघर्ष लाई समेटेर वहिनी सुनैना रम्तेलले मेरो कथा प्रियंका चोपडालाई सुटुक्क पठाइदिइछन् ।

गत ६ मेमा अपरिचित नम्वरवाट घण्टी बज्यो । फोन उठाएँ । वलिउड अभिनेत्री प्रियंका चोपडाले फोन गरेकी रहिछन् ।  हेलो, म प्रियंका चोपडा भन्दा पत्यारै लागेन । प्रियंका नै हो भन्ने थाहा पाउँदा छक्क परेँ, बाेली नै लर्वरियो । कोरोना संक्रमण शुरु भएपछि ज्यान जोखिममा राखेर विरामीको सेवामा खटेको थाहा पाएकी प्रियंकाले इन्स्टाको लाइभमा सोधिन्, यस्तो महामारीका वेला पनि तिमी कसरी काम गरिरहेकी छौ ? मैले भने, विरामीको सेवा गर्न पाउँदा आनन्द आउँछ, म कति जोखिममा छु भन्ने कुरा समेत विर्सिन्छु ।

मेरो कथाले प्रियंकालाई तानेछ । जसका कारणले कोरोना विरुद्ध खट्ने चार प्रेरक महिलाको सूचीमा म ५ हजार डलर सहित पुरस्कृत भएँ । यो घटनापछि म थप उत्साहित भएकी छु । सामाजिक सेवाप्रति पनि मेरो झुकाव वढेको छ । प्रियंकावाट पाएको पुरस्कार रकम समाजसेवामा नै खर्चिने लक्ष्य छ । खासगरी यो रकम नेपालमै सामाजिक कार्यमा लगानी गर्ने सोच छ ।

प्रतिकृया दिनुहोस्