News Portal

काँकरभिट्टाका प्रहरी प्रमुख भन्छन् : नेताकाे सोर्सफोर्स मान्दिन

रातोपोस्ट संवाददाता
१५९५ पटक

करिव दुई साता अघि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान सम्हाल्न आइपुगेका छन्, प्रहरी नायव उपरीक्षक सुनिल दाहाल । नेपाल प्रहरीमा ‘स्वच्छ छबि’ भएको औलामा गन्न सकिने प्रहरीको सूचीमा दाहाल पनि पर्छन् । सीमा नाकाको सुरक्षा व्यवस्थापन, लागू औषध, तस्करी र मानव तस्करी नियन्त्रण, जंगली हात्तीको प्रकोप जस्ता समस्या समाधानमा योजनावद्ध ढंगले काम गर्ने रणनीति छ दाहालको । पैसा कमाउने उद्देश्य बोकेर हाकिमलाई चाकडी गरेर आफू काँकरभिट्टा नआएको बताउँदै दाहालले भने, ‘संयोगले मेरो काँकरभिट्टामा पोष्टिङ भएको हो । पैसा कमाउने मेरो उद्देश्य छैन ।’ रातोपोष्टका सम्पादक दिलिप थापाले गरेको कुराकानीको सम्पादिक अंशः

१ , तपाईँका लागि झापा नयाँ ठाउँ हैन, पहिलो पटक इन्चार्ज भएर इलाका प्रहरी कार्यालय काँकरभिट्टा आउनु भएको छ, कामको योजना कस्तो बनाउनु भएको छ ?

पूर्वी नाका नेपालको विशिष्ट विशेषता बोकेको नाका हो । यसको पुरानो इतिहास छ र आफ्नै खास विशेषता रहेको छ । मैले गर्ने कामहरुको फेहरिस्त लामै छ । तर, पनि विद्यमान नियम कानुन, प्रहरी नियमावली, यसै गरेर मुलुकी अपराध संहिता फौजदारी कार्यविधि, अपराधिक गतिबिधि निर्दिष्ट गरेका कानुनको अधिनमा रहेर नेपाल सरकार गृह मन्त्रालयले निर्देशन गरेका विभिन्न नीतिहरूलाई आत्मसात गर्दै शान्ति सुरक्षा कायम गर्नु सुरक्षा व्यवःथापन गर्नु मेरो मुख्य कर्तब्य हुनेछ ।

२, तस्करी नियन्त्रणमा तपाईँको भूमिका के रहन्छ ?

यस ठाउँको चर्चा गर्नु पर्दा यहाँको विशेषता भनेको तस्करी पनि हो, अबैध चोरी निकासी तस्करीको ठूलो कारोबार हुने बिगतका अभिलेखहरूले पनि देखाउँछ, सिमावर्ती एरियाका मानिसहरूको जनजीवन प्रायः गरेर वारिका मान्छे पारी, पारीका मान्छे वारि आएर कारोबार गर्ने गरेको पाइन्छ, केही सुलभता र सस्तो सामानलाई कारोबार गरी आफ्नो जनजीवन सामान्य पारुन भन्ने एउटा पहिले देखिको चलन पनि होला ।

त्यो गरी रहँदा करिब ३५ किलोमिटर खुल्ला सिमाना रहेको यस इलाकामा समय समयमा चोरी निकासी तस्करीका घटनाहरु घटिरहेका छन् । यसको नियन्त्रण र न्यूनीकरण नै नयाँ आउने प्रमुखहरुको प्रमुख चुनौति हुने गरेको छ, साथ साथै हामीले लागुऔषधको कारोबारलाई पनि ठुलो समस्याको रुपमा लिएका छौँ । यसलाई नियन्त्रण गर्नु मेरो अर्को मुख्य काम रहेको छ । त्यो बाहेक केही फरक शैलीका गतिविधिहरु पनि म आफ्नो कार्यकालमा गर्नेछु । खासगरी समुदायसंंग प्र्रत्यक्ष साझेदारी गरेर युवा लक्षित विभिन्न सचेतनामुलक तालिमहरू सञ्चालन गर्ने छु ।

३, काँकरभिट्टा देशकै संवेदनशिल नाका पनि हो । मानिस आवतजावतको कुनै रेकर्ड हुँदैन नाकालाई व्यबथित गर्ने योजना के छ ?

खुला सीमानाका कारण नेपालका अपराधी पारी जाने र पारीका अपराधीहरू नेपाल आउने क्रम पुरानै हो । यसलाई रोकथाम गर्नु नै अहिलेको महत्वपुर्ण काम हो । यसलाई व्यवथित गर्नको लागि दुई देशको अभिलेखहरूको आदानप्रदान गर्नु पर्ने हुन्छ। हाम्रो देशका अपराधीहरूको लिस्ट भारतमा दिने र भारतको अपराधीहरूको लिस्ट नेपालमा दिने गरिको कुराकानी भएको छ भारतीय सुरक्षाकर्मीहरु संंग पनि  सम्भावित अपराधिहरू एक देशबाट अर्काे देशमा भाग्न सक्ने लिस्टिङ गरेर काम गर्न सकेको खण्डमा केहि रोकथाम हुने देखिन्छ।

अहिले हामीसँग सामान्य रेकर्ड रहेको छ । कति आए या कति गए ? भन्ने कुराको सामान्य काम यसले पनि गरिरहेको छ । तर, यो नै अन्तिम हैन । अझै धेरै व्यवथित गर्न सकिन्छ । सिमानाको अपराध नियन्त्रणमा प्रविधिको ठुलो महत्व हुन्छ । पारीका सिमानाकाहरू व्यवथित रहेका छन्। त्यसबाट पनि हामीले सिक्नुपर्छ । यो पूर्वी नाका अन्तर्राष्ट्रिय सिमानाका भएको हुनाले यसलाई सुरक्षित नाका बनाउन हामी लागि पर्नेछौँ। अहिले हामीसँग भएका सिसि क्यामेराहरू विग्रिएका कारण सञ्चालनमा आएका छैनन् । सरोकारवालाहरूसँग छलफल गरी चाँडै नै सिसि क्यामेराहरू सञ्चालनमा ल्याउने छौँ।

४, यो नाका मानव तस्करीको पनि ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ भनिन्छ, विभिन्न वहानामा मानिसहरु तस्करी हुने गरेको पाइएको छ, यसलाई रोक्ने प्लान कस्तो छ ?

यो समस्या सबै सिमा नाकाहरूमा छ । यसलाई एकैपटक नियन्त्रण गर्न सक्ने भन्ने हुन्न । यसका लागि नागरिकहरू पनि सचेत हुन जरूरी छ । यहाँ नागरिकहरूमा पनि समस्या छ हामीले रोकथामका लागि काम गर्दै गर्दा पनि विभिन्न बहाना बनाएर जाने गर्छन। हामीले धेरै जसोलाई रोकेर आफन्तको जिम्मा लगाउने पनि गरेका छौँ तर उनीहरू पछि कुनै न कुनै नाकाबाट जाने र उनीहरूले दुख पाएर फर्किने गरेको पाइएको छ ।

५, राजनीतिक दवावका कारण प्रहरी अपराधी छाड्न वाध्य रहेका प्रशस्त उदाहरणहरु छन्, तपाईँ चाहिँ राजनीतिक सोर्सफोर्सलाई कसरी सामाना गर्नु हुन्छ ?

राजनीतिको आडमा कुनै पनि अपराधीहरू उम्कन पाउँदैनन् । अनुसन्धानबाट पुष्टि भएका अपराधिहरूलाई कानुन बमोजिम सजाय दिलाउने कुरामा कुनै कसर बाँकी राख्नै छैन । राजनीतिक दलको सोर्सफोर्सका आधारमा अपराध अनुसन्धान फितलो बनाउने कुराहरू पनि सुनिन्छ तर, म कानुन सम्मत काम गर्ने कुरामा प्रतिवद्ध छु । कानुनी आदेश तथा निर्देशनहरूलाई आत्मसात गर्दै काम गर्ने हो । कसैको दबाव या प्रलोभनमा पर्ने भन्ने हुँदैन । अपराधीहरूलाई कारबाही गर्ने कुरामा कुनै पनि सम्झौता मबाट हुने छैन ।

, प्रहरी संगठन भित्र सुद्धिकरणको खाँचो छ कि नाई ? गलत काम गर्ने र अनुशासन उल्लंघन गर्ने प्रहरीलाई कस्तो कार्वाही हुन्छ ?

विगतका घटनाहरू हेर्दा केही प्रहरीहरू आर्थिक प्रोलभनमा पर्ने गरेको र अपराधिक संगठनहरूसँग साँठगाँठ गर्ने गरेको भन्ने कुराहरू सुनिन्छ । यो नेपालको कानुन विपरितको कार्य हो । यस्ता कार्य गर्न कसैलाई छुट छैन। अझ प्रहरीले यसलाई गम्भिरताका साथ लिनुपर्छ । प्रहरी भित्रपनि आचारसंहिता छ । के काम गर्न हुने, के गर्न नहुने भन्ने कुराहरू त्यहाँ उल्लेख गरिएको छ । मैले सबै सहकर्मी प्रहरीहरूलाई व्रिफिङ गरिसकेको छु । प्राप्त तलब रासनले हामीलाई खान लाउन पुगेको छ । विभिन्न सेवासुविधाहरू पनि दिएको छ त्यसकारण यो भन्दा बाहिर जान खोजियो भने गैर कानुनी काम हो । गैर कानुनी काम गर्ने प्रहरीको अनुहार हेरेर क्षमायाचना गरिने छैन । कानुन भन्दा बाहिर रहेर कुनैपनि सम्झौता हुँदैन । म यहाँ कुनैपनि आर्थिक प्रलोभनमा आएको होइन कानुन विपरित गतिविधि गर्ने कसैलाई छुट हुने छैन ।

प्रतिकृया दिनुहोस्