News Portal

निर्वाचन आयोगका नजरमा अहिले पनि नेकपा एउटैः निर्वाचन आयुक्त

रातोपोस्ट संवाददाता
७८३ पटक

काठमाडौं, १६ माघ । निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको स्पष्ट पारेको हो ।

दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको आयुक्त ईश्वरी पौडेलेले जानकारी दिए । उनले भने, ‘उहाँहरू दुबै पक्षले आफूले निर्णय गरेका निर्णय अध्यावधिक गरिदिनुस् भन्नु भएको हो। आयोगले आधिकारिकताबारे कुनै निर्णय गरेको छैन, उहाँहरूले नमागेको आधिकारिकता दिन हामीले पार्टी फुटाइदिने हो र!’

उनले आयोगका नजरमा अहिले पनि नेकपा एउटै रहेको धारणा अगाडि सारे । नेकपाको अहिलेको विवादलाई उनले दाजुभाइले झगडा गरेको तर अदालतमा अंशमुद्दा नहाले जस्तो भएको उनको स्पष्टीकरण थियो । उनले भने, ‘दाजुभाइ झगडा गरेका छन्। एकले अर्कालाई गाली गरेको सबैलाई थाहा छ तर अदालतमा अंशमुद्दा नहालेसम्म त छुट्टिएको भन्न मिलेन ।’

चुनावका लागि छिट्टै पार्टी दर्ता गर्न लागेकाले आयोगले नेकपाका दुबै पक्षलाई बोलाएको बताउँदै उनले भने, ‘कुनै एउटा समूहलाई आधिकारिता प्रदान गरिएको छैन ।’ उनले भने, ‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’ उनले अगाडि थपे, ‘दुवै पक्षले आधिकारिक हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउँदै हिड्ने कुरा भएन ।’

प्रतिकृया दिनुहोस्