News Portal

  • नेकपा विप्लव संगठन विस्तारमा अभियानमा

    रातोपोस्ट संवाददाता
    २४९ पटक

    डडेल्धुरा, २८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले डडेल्धुराका ग्रामीण क्षेत्रहरुमा संगठन विस्तारमा तीव्रता लिएको छ । सो पार्टीका भ्रातृ संगठनहरुसमेत सक्रियताका साथ संगठन विस्तार अभियानमा जुटेका छन् । मंगलबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या प्रकरणविरुद्ध ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तिकारीले आलिताल गाउँपालिकामा प्रदर्शन गरेको छ ।

    संगठन विस्तार अभियानका क्रममा बैतडीमा भएको जघन्य अपराधको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताए । उनले हाल जिल्लाभरका विद्यालयमा संगठन बिस्तार भइरहेको जानकारी दिए । विप्लवको पार्टीले जिल्लाका अधिकांश स्थानीय तहका वडाहरुमा वडा कमिटी, बस्ती स्तरमा टोल कमिटी र भ्रातृ तथा जनवर्गीय संगठनहरु गठन र पुनर्गठनको काम गरिरहेको सो पार्टीका जिल्ला सेक्रेटरी टीका राना ‘विजय’ले जानकारी दिए ।

    उनले केन्द्रमा सरकारसँग वार्ताको वातावरण बन्न थालेकाले हाल संगठन विस्तार अभियान सञ्चालन गरिएको बताए । सरकारसँग वार्ता गरेर पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको जिल्लास्तरीय नेताहरुको बुझाइ छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

    प्रतिकृया दिनुहोस्