News Portal

  • मेचीनगर महिला समूहले पर्यटन प्रबर्धनका लागि नयाँ कार्यक्रम ल्याउदै

    रातोपोस्ट संवाददाता
    ६६ पटक

    झापा, १० फागुन । झापामा गत वर्ष  पैदल मार्च गरेर चर्चामा आएको मेचीनगर महिला समूह फेरि सक्रिय हुने भएको छ । समूहले पर्यटन प्रबर्धन र सामाजिक विषयमा आगामी दिनमा नयाँ कार्यक्रमहरु ल्याउने भएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले गत वर्ष हरियो भेस्ट लगाएर सो समूहले धुलावारीबाट बुद्धशान्तिको धारागोलासम्मको पैदल मार्च गर्दा राष्ट्रिय चर्चा भएको थियो । आइतवार कालिका सिमसारमा भ्रमण वर्ष अभियानको समापन गर्दै समूहले बनभोज र कानूनी शिक्षा कार्यक्रम गरेको छ ।

    कार्यक्रमको प्रमुख अतिथि तथा मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले समूहले गत वर्ष ठूलो उत्साहका साथ पर्यटन प्रबर्धनको अभियान सुरु गरेको स्मरण गर्दै कोरोना महामारीले लक्ष्य अधुरै रहेको बताइन् । उनले सामाजिक कार्य गर्ने समूहको दृढ इच्छालाई सम्मान गर्दै आगामी दिनमा नगरपालिकाले सक्दो सहयोग पुर्याउने बचनबद्धता व्यक्त गरिन् ।

    समूहकी अध्यक्ष रेणुका डाँगीले कोरोना महामारीले भ्रमण वर्ष असफल बनाए तापनि महिलाहरुको सामाजिक कार्य गर्ने चाहना र लक्ष्य जारी रहेको बताइन् । उनले समूहलाई सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरिन् ।

    सो अवसरमा नेपाल बार एसोसिएसन झापाका कार्यसमिति सदस्य एवम् कानूनी अधिवक्ता चुडामणि पराजुलीले सहभागीहरुलाई महिला सम्बन्धी विद्यमान कानूनका विषयमा जानकारी गराउँदै प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, पत्रकार माहासंघ पुर्व केन्द्रिय सदस्य मोहन काजी न्याैपानेलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्