News Portal

‘कमेडी च्याम्पियन सिजन- २’ घोषणा

रातोपोस्ट संवाददाता
९९५ पटक

काठमाडौं, १२ फागुन । कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शो’को औपचारिक घोषणा गरिएको हो । दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा २१ फागुनदेखि प्रसारण सुरु हुनेछ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यस सिजन गत सिजनभन्दा भव्य हुने दाबी गर्छन् । गत वर्ष आर्थिक रूपले पनि केही समस्या झेल्नुपरेकाले धेरै कुराहरू गर्न नसकिएको भण्डारीको भनाइ छ । ‘गत वर्ष हामीलाई आर्थिक रूपमा पनि धेरै समस्या पर्‍यो । जसका कारण कतिपय सपना पूरा हुन सकेनन् । यस वर्ष हामीलाई आर्थिक पक्षको चिन्ता भएन । अब ढुक्कसँग कन्टेन्टमा काम गर्न पाउनेछौँ,’ उनले भने, ‘गत वर्ष गर्न नसकेको काम हामीले यस वर्ष गर्नेछौँ ।’

यस वर्ष प्रतियोगीलाई पनि धेरै मिहिनेत गराइएको निर्देशक भण्डारी बताउँछन् । उनले थपे, ‘गत वर्षका प्रतियोगीलाई भन्दा यस वर्षका प्रतियोगीलाई हामीले धेरै मिहिनेत गराइरहेका छौँ । यसको एउटै उद्देश्य भनेको शोलाई राम्रो बनाउने हो ।’ कान्तिपुर टीभीका स्टेशन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँगकाे सहकार्यलाई लिएर उत्साहित रहेको बताउँछन् । ‘कमेडी च्याम्पियन अर्गानिक शोको रूपमा स्थापित भएको छ । यस अर्ग्यानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै पाँच वर्षका लागि सम्झौता गरेर लिइसकेका छौँ’, दिनेशले भने, ‘पाँच वर्ष मात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ ।’

कार्यक्रममा विज्ञापन कम्पनी ‘एडी रिलिज’ले विभिन्न आयोजक तथा प्रयोजकसँग सम्झौतापत्र आदान प्रदान गरेको थियो । कमेडी च्याम्पियन-२ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो । जसबाट उत्कृष्ट २४ प्रतियोगी छनोट भएका छन् । कमेडी च्याम्पियनका जजहरूमा यस वर्ष कुनै परिवर्तन भएको छैन ।

अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजका रूपमा रहेका छन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछिन् ।’थ्री प्रोडक्सन’ले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे छन् ।

प्रतिकृया दिनुहोस्