News Portal

देउवालाई भेटे चिनियाँ र भारतीय राजदूतले

रातोपोस्ट संवाददाता
४०७ पटक

काठमाडौं, १४ फागुन । संसद् पुनर्स्थापना भएर नयाँ सरकार गठनको कुरा चलिरहेका बेला चीन र भारतका राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास (बूढानीलकण्ठ) मा पुगेर भेटेका हुन्।

कांग्रेसका एक नेताका अनुसार उनीहरूले बिहीबार बेलुका छुट्टाछुट्टै समयमा भेट गरेका हुन्। बिहीबार पार्टीको पदाधिकारी बैठक सकिएपछि दुई देशका राजदूतले सभापति देउवासँग भेटवार्ता गरेका हुन्। उनीहरूले नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले पुनर्स्थापना गरेपछि अहिले कांग्रेसका सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ। बुधबार मात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उनलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। यस क्रममा चीन र भारतका राजदूत पनि सक्रिय भएका हुन्।

प्रतिकृया दिनुहोस्