News Portal

प्रधानमन्त्रीले साँझ ५ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

रातोपोस्ट संवाददाता
३७२ पटक

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा कुन-कुन एजेण्डामा छलफल हुने भन्ने विषय औपचारिक रुपमा सार्वजनिक नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।

तर, आज बस्ने मन्त्रिपरिषद् बैठकमा निर्वाचन स्थगत, संसद बोलाउने लगायतका विषयमा छलफल र निर्णय हुन सक्ने बताइएको छ।
बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेपनि आज शुक्रबारका लागि बस्न लागेको हो। संसद बोलाउने विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई बिहीबार बेलुका भेटेका थिए। ओलीले राष्ट्रपतिलाई शितल निवास गएर भेटेका हुन्।

गएको पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गते निर्वाचन गराउने गरि निर्णय गराएका थिए। मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साेही दिन दिउँसो सदर गरेकी थिइन्। तर, उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा १३ थान रिट निवेदन दर्ता भएका थिए।

दुई महिना लामो बहसपछि सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन फैसला सुनाएको थियो। सर्वाेच्चको फैसलापछि सरकारलाई प्रतिनिधि सभाको बैठक आह्वान गर्न बाध्यात्मक स्थिति आइपरेको छ। बैठक बोलाउनेबारे आजकै मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने/नगर्ने भने टुंगो छैन।

प्रतिकृया दिनुहोस्