News Portal

तस्करकाे नयाँ सेटिङ सब्जीकाे गाडीमा कपडाकाे पाेका

रातोपोस्ट संवाददाता
६३२ पटक

झापा, १४ फागुन । तस्करकाे नयाँ सेटिग फेला परेकाे छ ।  पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रन लागेको तरकारी बोकेको गाडीबाट भारतीय सीमा सुरक्षा बलले ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।

काँकडभिट्टासँग जोडिएको भारतको पानी ट्याङ्की नाकामा एसएसबीले विशेष सूचनाको आधारमा आलु र सब्जीका बोराहरू लोड गरिएका एउटा गाडी चेक जाँच गर्दा त्यसभित्र ठुलो परिणामको लत्ता कपडा फेला पारेको हो ।

सीमा नाकामा तैनाथ एसएसबीका ४१ बटालियन गौरसिंह बस्तीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएका आलु र सब्जीका बोरा निकालेर हेर्दा त्यसभित्रबाट लत्ता कपडा बरामद गरेको बताइएको छ ।

ट्रकको तल लत्ता कपडाका पोकाहरू राखेर माथिबाट आलु र सब्जीका बोरा राखिएको थियो । एसएसबीले मेची नदीमा बनेको नयाँ पुलबाटै सामानसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका लत्ता कपडाको आवश्यक कागजात चालकले देखाउन नसकेपछि भारतीय रुपैयाँ १० लाख मुल्याकंन तोकेर सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि पानी ट्याङ्की भन्सार कार्यालय बुझाइएको एसएसबीले जनाएको छ ।

पानी ट्याङ्की भन्सारमा तरकारीको मात्र राजश्व बुझाएर लत्ताकपडा अवैध रुपमा नेपाल भित्रिइरहेको यो घटनाले पुष्टि गरेको मेची भन्सारले जनाएको छ ।

मेची भन्सार प्रमुख धुव्रराज विश्वकर्माले भारतबाट आउने तरकारी गाडीहरू सामान्य रुपमा चेक जाँच गरिने गरेको बताउँदै तर अब चेक जाँचमा कडाइ गरिने बताए ।

भन्सार प्रवेश गर्ने सामानमाथि प्रहरीले हस्तक्षेप गर्न नमिल्ने बताउँदै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालले अब भन्सारसँगको सहकार्यमा भारतबाट तरकारीलगायत अन्य सरसामान लिएर आउने गाडीमाथि निगरानी बढाउने बताए ।

प्रतिकृया दिनुहोस्