News Portal

सहमतिप्रति प्रतिबद्ध छौं, सहिदका सपनालाई मर्न दिनेछैनौं : विप्लव

रातोपोस्ट संवाददाता
८७७ पटक

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ३ बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। ‘तीन बुँदेमा दृढ छौं। आशंका र उत्तेजनात्मक र कुतर्क गर्न जरुरी छैन। हामी पालना गर्छौं,’ विप्लवले भने। राष्ट्रियसभा गृहमा आयोजित सहमतिपत्रमा हस्ताक्षर समारोहमा बोल्दै महासचिव विप्लवले आजको दिनलाई नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन भने। यसलाई सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्न र सहमति कायम गर्न सफल सबैलाई बधाई भने।

‘यो सहमति सरकार र नेकपाको मात्रै होइन। पार्टीको कुरा होइन। केही नेताको कुरा होइन। सहमतिभित्र ठूलो आकांक्षा छ,’ विप्लवले भने, ‘स्वाधिनता, राष्ट्रियता सहमतिभित्र दीर्घ शान्ति, स्थिरता, समृद्धिको आकांक्षी समृद्ध जीवनको चाहना यो भित्र छ।’ विप्लवले सहिद परिवारको विश्वास, सहिदका सपनालाई मर्न नदिइने प्रतिबद्धता समेत जनाए। ‘धेरैको इच्छा पूरा भए। नेपालका जनताको चाहना पूरा भएको छैन। सहिद परिवारका विश्वासलाई, सपनालाई मर्न दिइने छैन,’ उनले भने।

महासचिव विप्लवले सरकार र नेकपा दुबैले जिम्मेवारी पूरा गरेको अनुभूति भएको बताए। ‘कम्युनिस्ट बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका बदलेमा भने कम्युनिस्टहरु शान्तिका दूत पनि हुन्,’ उनले भने। विप्लवले भने, ‘यो कस्तो प्रेम भयो जुन घामजस्तोको भेट हुँदैन भन्ने गीत देउडामा गाइन्छ। तर जुन र घामको भेट हुन्छ।’ नेपाली जनताको श्रममाथि उभिएर देश बनाउनुपर्ने उनको भनाइ छ।

‘नेपालमा आज पनि कसैले सुरक्षित महसुस गर्ने अवस्था छैन। कसैले पनि आफ्नो अधिकारको निर्णय गर्न पाएको छैन, पाउनुपर्छ। नेपालको भविष्यको बारेमा जनमत दिने अधिकार जनताले पाउनुपर्छ,’ उनले भने। विप्लवले जुन दिन कम्युनिस्ट विजय हुनेछ त्यो दिन हतियार र हिंसा अन्त्य हुने बताए। ‘घुम्दै घुम्दै रुम्जाटार पुर्याउने र घोडा चढ्ने प्रवृति अन्त्य हुनुपर्छ। कुनै विदेशीले हस्तक्षेप गर्यो भने हाम्रो शरीर गाडिन्छ तर सैह्य हुँदैन,’ उनले भने।

प्रतिकृया दिनुहोस्